वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय, श्रीपुरको स्थलगत अनुगमन गरेका छन्। अनुगमनको क्रममा मेयर सिंहले विद्यालयमा नियमित कक्षा सञ्चालन, विद्यार्थीहरूको उपस्थिति, दिवा खाजा कार्यक्रमको प्रभावकारिता र सरसफाइ व्यवस्थाबारे विस्तृत जानकारी लिएका थिए।
उनले शिक्षक र विद्यालय व्यवस्थापनसँग छलफल गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीमैत्री वातावरण निर्माण तथा सरकारी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन निर्देशन दिएका छन्। साथै, विद्यालयको भौतिक पूर्वाधार सुदृढ पार्न र व्यवस्थापन सुधार गर्नुपर्नेमा पनि जोड दिएका छन्।
मेयर सिंहले स्थानीय तहको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै शिक्षक, अभिभावक र सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन नियमित अनुगमनलाई प्राथमिकतामा राखिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।






