वीरगंज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर सञ्चालन हुँदै आएका ब्रिज कोर्स कार्यक्रमहरू बन्द गर्ने निर्णय गरेको छ। मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा आगामी २०८३ साल वैशाख १ गतेदेखि यस्ता सबै कक्षाहरू पूर्ण रूपमा रोक लगाइने स्पष्ट पारेको छ।
विद्यालय तथा उच्च शिक्षामा भर्ना प्रक्रिया अघि सञ्चालन गरिने प्रवेश परीक्षा तयारी कक्षा तथा ब्रिज कोर्सका नाममा भइरहेका कार्यक्रमहरू अब सञ्चालन गर्न नपाइने मन्त्रालयको निर्देशनमा उल्लेख छ। मन्त्रीस्तरीय निर्णयअनुसार २०८२ चैत १३ गते नै यस्तो व्यवस्था गरिएको जनाइएको छ।
मन्त्रालयले उक्त निर्णय कार्यान्वयन गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिँदै अनुगमनका क्रममा नियम उल्लंघन गरी कक्षा सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।






