Categories समाचार

पटाका पड्काउँदा पाँच वर्षीय बालकको मृत्यु, प्रहरी निगरानीमाथि प्रश्न

Advertisement

वीरगंज । पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीमा पटाका पड्काउने क्रममा जलेर पाँच वर्षीय बालकको मृत्यु भएको छ।

चाडपर्वका बेला आज बिहान करिब ८ः३० बजे पटाका पड्काउने क्रममा स्थानीय मखु सहनीका पाँच वर्षीय छोराको छातीमा आगो लागेर गम्भीर घाइते भएका थिए। पटाका लागेपछि बेहोस भएका बालकलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको मृतकका बुबा मखु सहनीले बताएका छन्।

Advertisement

बालकको मृत्यु भएपछि सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्रिने पटाकाको ओसारपसार, बिक्रीवितरण तथा प्रयोग नियन्त्रण गर्न प्रहरी प्रशासनले अपनाएको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।

Advertisement

विशेषगरी इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त अर्यालको नेतृत्वमा रहेको प्रहरी टोलीले आफ्नो कार्यक्षेत्रमा प्रभावकारी गस्ती र निगरानी गर्न नसकेको हो कि भन्ने प्रश्न स्थानीयस्तरमा उठ्न थालेको छ।

सीमावर्ती क्षेत्रबाट पटाकाको अवैध ओसारपसार तथा बिक्रीवितरण भइरहेको आशंकाबीच बजारदेखि ग्रामीण बस्तीहरूसम्म पटाका सहजै उपलब्ध हुनुले प्रहरी निगरानीको प्रभावकारितामाथि प्रश्न खडा गरेको छ।

यस विषयमा प्रहरी निरीक्षक अर्यालसँग पटक–पटक फोन सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लसँग पनि आधिकारिक प्रतिक्रिया लिन खोज्दा फोन उठेन।

एक निर्दोष बालकले अकालमै ज्यान गुमाउनुपरेको घटनाले प्रहरी प्रशासनको सीमा निगरानी, गस्ती तथा अवैध पटाका नियन्त्रणको जिम्मेवारीमाथि गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता देखाएको छ।

पटाका कहाँबाट भित्रियो? कसले बिक्रीवितरण गरिरहेको थियो? र प्रतिबन्धित तथा जोखिमयुक्त पटाका नियन्त्रणमा प्रहरी किन प्रभावकारी हुन सकेन? यी प्रश्नको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न स्थानीयले माग गरेका छन्।

यस्ता दुःखद घटना दोहोरिन नदिन अवैध पटाकाको कारोबार नियन्त्रणसँगै जिम्मेवार निकायले प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन आवश्यक छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *