Categories धर्म/संस्कृति समाचार

छठ पर्व शुरु, आज नहाय–खाय विधि

Advertisement

पर्सा । आजबाट छठ पर्व सुरु भएको छ । आज पहिलो दिन ब्रतालुले ‘नहाय–खाय’ विधि सम्पन्न गर्नेछन् ।

कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिका साथ छठ पर्व सम्पन्न गरिन्छ । सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो दिन ब्रतालुले हातगोडाका नङ काटेर स्नान गर्दै चोखोनितो खाएर व्रत संकल्प गर्दछन् । यसलाई तराई मधेशमा ‘नहाय–खाय’ भनिन्छ ।

Advertisement

त्यसैगरी दोस्रो दिन पञ्चमी तिथिका दिन दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरुप खाने गर्छन् । दोस्रो दिनको यो विधिलाई तराई मधेशमा ‘खरना’ (रसियाव रोटी) भनिन्छ ।

Advertisement

पर्वको मुख्य दिन षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अर्घ दिइन्छ । यसक्रममा ठेकुवा, बतासा, अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझिया अरख’ तथा सझिया घाट पनी भनिन्छ ।

षष्ठीको रात सूर्यदेव र षष्ठीमाता (सूर्यदेवकी पत्नी) को आराधना गर्दै घर तथा घाटमै  “कोषी” भर्ने चलन रहेकोले ब्रतालुले व्रत विधि सम्पन्न गर्ने गर्छन ।

पर्वको अन्तिम अर्थात् सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत सम्पन्न गरिन्छ । तराई मधेशमा अन्तिम दिनको विधिलाई ‘भोरिया अरख’( भोरिया घाट) तथा ‘पारन’ पनी भनिन्छ ।

पर्व सम्पन्न भएसँगै ब्रतालुले घर फर्केर (घाट जानेहरु) ब्राह्मण, गरिब, आशामुखीलाई अन्नदान गरी भोजन गर्दछन् । यससँगै छठपर्वको प्रसाद खाने खुवाउने क्रम शुरु हुन्छ । तराई मधेशमा छठको प्रसाद इष्टमित्र, छोरीचेली र आफन्तकहाँ पुर्याउने क्रम १०÷१५ दिनसम्म चलिरहन्छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, सन्तान सुख हुने र रोगव्याध नलाग्ने जनविश्वास रहेको छ । खासमा चर्मरोग सूर्यको उपासनाले निको हुने विश्वास गरिन्छ ।

पछिल्ला केही दशकयता आपसी घुलमिलले छठपर्व पहाडी मूलका हिन्दू मात्र नभएर भाकलका रुपमा फरक धर्म संस्कृतिका जाति समुदायले पनि मनाउन थालेपछि यो पर्व तराई मधेशको साझा पर्वको रुपमा विकास हुँदैछ । सबै जाति, धर्म, सम्प्रदाय र व्यक्ति–व्यक्ति परिचालित हुने हुँदा छठपर्व लोकआस्थाको पर्व बनेको जानकारहरू बताउछन ।

तराई मधेशमा वर्षको दुईपटक छठपर्व मनाउने परम्परा छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाईन्छ । यद्यपि जनजनलाई परिचालित गर्ने भने कात्तिक छठ नै हो ।

तराई मधेशका सबै भेगमा अहिले छठको चहलपहल निकै बढेको छ । पर्वमा गुवोसहित उखुको लाँक्रा, ज्यामिर, अदुवाको बोट व्रत विधिमा देखाइने हुँदा यस्ता कृषि उपजले राम्रो बजार पाएका छन् । त्यसैगरी यस पर्वका मिष्ठान्न परिकार ठेकुवा सहितका सामग्री र ती सामग्री राख्ने माटो र बाँसका चोयाले बनाइएका सामानको खरिदबिक्री पनि बढेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *