पर्सा । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेस द्रुतमार्ग तोकिएको समयभित्र सम्पन्न हुनेमा आशंका उब्जिएको छ । ४ वर्षभित्र सम्पन्न गर्ने गरी २०७४ वैशाख २१ गते सरकारले निर्माणको सम्पूर्ण जिम्मा नेपाली सेनालाई दिएको थियो । तर तोकिएको समयभित्र सम्पन्न हुन नसक्ने भएपछि २०७७ असोज दोस्रो साता पुनः ३ वर्षका लागि म्याद थपिएको थियो ।
अहिले थपिएको म्यादअनुसार २०८१ वैशाखभित्र सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजनाको सम्पूर्ण काम सक्नुपर्नेछ । तर द्रुतमार्ग निर्माणका लागि २ वर्ष ५ महिना मात्रै बाँकी रहँदा निर्माणको मुख्य काम नै सुरु नभएको द्रुतमार्ग निर्माण मूल सरोकार समितिका अध्यक्ष रविराज दंगालले बताउनुभयो । अहिलेसम्म द्रुतमार्गको निजगढ खोकना सडक खण्डको ट्र्याक खोल्ने र माटो भर्ने बाहेक कुनै काम नभएको दंगालले बताउनुभयो ।
काठमाडौं–तराई मधेस द्रुतमार्ग बाराको निजगढदेखि ललितपुरको खोकना सम्म ७२ दशमलब ५ किलोमिटर पर्छ । जसमध्ये बारामा ९ किलोमिटर, मकवानपुरमा ५७ र ललितपुर जिल्लामा ७ किलोमिटर रहेको छ ।द्रुतमार्ग निर्माणको काममा पछिल्लो समय कुनै प्रगति भएको नदेखिएको भन्दै दंगालले सरकारले पनि महत्त्वपूर्ण आयोजना समयमै सम्पन्न गर्न राज्यका तर्फबाट सबै किसिमको पहल गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।
नेपाली सेनाले भने रूख कटान, निर्माणको ठेक्का प्रक्रिया, मुआब्जा विवाद र कोभिड–१९ लगायतका कारणले काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजना समयमै सम्पन्न हुन नसकेको जनाएको छ ।यसैबिच निजगढ –काठमाडौं द्रुतमार्ग सम्बन्धी सूचना दिन आयोजना कार्यालयले आलटाल गरेको छ ।राष्ट्रिय गौरवको आयोजना ढिलासुस्ती हुनुको कारण र हालसम्मको प्रगति विवरणसम्बन्धी सूचना माग गर्दै दिइएको लिखित निवेदनउपर आयोजनाको केन्द्रीय कार्यालयले सूचना दिन नमिल्ने भन्दै निजगढ नगरपालिका कार्यालयलाई जवाफ पठाएको हो ।
द्रुतमार्ग निर्माणमा सरोकार समितिका अध्यक्ष दंगालले भने सेनाले हालसम्म गरेको कामको सम्पूर्ण विवरण जनतासामु सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।








