गण्डकी प्रदेश प्रहरी प्रमुख दिवेश लोहनिले नव निर्मित जिल्ला प्रहरी कार्यालय मुस्ताङको कार्यालय भवन, प्रहरी कर्मचारी बस्ने आवासीय भवन , प्रहरी चौकी घासा र सिमा प्रहरी चौकी लोमान्थाङको उद्घाटन गर्नु भएको छ ।
संघीय सरकारबाट रकम बिनियोजन भई निर्माण सम्पन्न भएका उक्त भवनहरुमा कार्यालय भवन, मेष, ब्यारेक,शौचालय, पुरुष र महिलाको लागि अलग हिरासत कक्ष र कार्यरत प्रहरी कर्मचारीको लागि बस्ने आवास तथा भान्सघरको निर्माण भएको हो ।कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक लोहनीले प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो ।
उद्घाटनका क्रममै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लोहनीले पछिल्लो समय प्रहरीको भौतिक संरचनाहरु आधुनिक बन्दै गईरहेकाले प्रहरीलाई सुविधा प्राप्त मात्र नभई काम गर्ने वातावरण सिर्जना भईरहेको समेत उल्लेख गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङ,घासा प्रहरी चौकी र सीमा प्रहरी चौकी लोमान्थाङका भौतिक संरचनाको प्रहरी प्रधान कार्यालय,आवास तथा भौतिक परियोजना महाशाखाबाट योजना तर्जुमा भई जिल्ला प्रहरी कार्यालय मुस्ताङले निर्माण ब्यवसायीसंग ठेक्का सम्झौता गरी निर्माण भएको प्रहरी नायब उपरिक्षक ईन्जिनीयर केविनजङ्ग थापाले जानकारी दिनुभयो ।
मुस्ताङ प्रहरीको भौतिक संरचना निर्माण भएसंगै जिल्ला प्रहरी कार्यालयका साथै प्रहरीको १६ वटा ईकाई मध्ये दुई वटा ईकाईमा कार्यसम्पादन सहज भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरिक्षक रामकुमार दानीले उल्लेख गर्नुभयो ।
उहाँले उत्तरी चिनसंग सिमाना जोडिएको लोमान्थाङ सिमा प्रहरी चौकी, प्रहरी चौकी घासा लगायतका स्थानमा पहिले भएका ढुङ्गा र माटोले बनेको एक तले परम्परागत भौतिक संरचनाबाट कार्यसम्पादन गर्न कठिन तथा हिमपातको समयमा कार्यरत प्रहरी कर्मचारीहरु लाई समेत बसोबास गर्न असहज परिस्थीती बन्ने गरेकोमा नवनिर्मित भवनहरुले सहजता प्रदान गर्ने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहतमा भएका १६ वटा प्रहरी इकाइहरु मध्य १४ वटा प्रहरी ईकाईहरुले अझै पनि पुराना जिर्ण अवस्थाका भवनहरुबाटनै कार्यसम्पादन गर्दै आईरहेका छन् ।






