वीरगन्ज । पर्साको शहरी तथा ग्रामीण क्षेत्रमा गर्भपतनका औषधीहरु अनियन्त्रित रुपमा बिक्रीवितरण भइरहेको छ ।
सूचीकृत स्वास्थ्य संस्थाले तालिम प्राप्त चिकित्सकको स्वीकृतिमा मात्रै गर्भपतनका औषधि बिक्री–वितरण गर्न पाउने नियम रहेता पनि पर्साको सदरमुकाम वीरगन्ज तथा ग्रामीण भेगमा रहेका अधिकांश औषधि पसलहरुले खुलेयाम जथाभावी रुपमा गर्भपतनका औषधिहरू बिक्री–वितरण गरिरहेका छन् ।
वीरगन्ज र पोखरीयामा रहेका औषधी पसलहरुमा गर्भपतनका औषधि अन्य सामान्य औषधि जस्तै सहज रुपमा बिक्री भइरहेको स्थानीयले बताएका छन् । भारतीय बजारबाट अवैध रुपमा आयत गरिएका मेडावन, वान वानटेड, प्रिनेट , मेजायपोस्ट, आइपिल, एमटिपी, प्रिमेन्टो नामका गर्भपतनका औषधिहरु , फार्मेसी र औषधी पसलहरुमा सहजै रुपमा पाइने गरेको छ । यीमध्ये मेडावन नामक औषधी मात्र नेपाल सरकारले मान्यत दिएको औषधि हो । मेडिकल एबर्सनका औषधिको गलत प्रयोगबाट महिलाको ज्यान जोखिममा पर्ने गरेको छ ।
यस्तै युवतीहरुले यस्ता औषधि परिवार नियोजनका साधनका रूपमा प्रयोग गरिरहेका छन् । औषधिको लापरबाहीपूर्ण प्रयोगबाट महिला र युवतीहरुमा गर्भपतनपछि देखिने जटिलता पोस्ट एबर्सन केयर अर्थात् ‘प्याक’को समस्या बढिरहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । एबर्सन गर्ने महिला र वितरकलाई औषधिको प्रयोगबारे ज्ञान नहुँदा गर्भपतन सम्बन्धी जोखिम उच्च रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
मुलुक संघीयतामा गएसँगै स्वास्थ्य क्षेत्रका सबै अधिकार स्थानीय तहको मातहतमा आएपनि पर्साका स्थानीय सरकारले नियमन तथा नियन्त्रण गर्न नसक्दा पर्साका शहरी र ग्रामीण बजारमा खुलेका औषधि पसलले गर्भपतनका औषधिको खुला बिक्री–वितरण गरिरहेका हुन् । औषधी पसलहरुको नियमन र अनुगमन गर्ने जिम्मा औषधी व्यवस्था विभागको भएपनि उसले पनि अवैध रुपमा गर्भपतन र एबर्सनका औषधी बिक्री गर्ने औषधी पसलहरुमा अनुगमन नगर्दा त्यस्ता औषधी खुलेयाम रुपमा बिक्री गरिरहेका हुन् ।







