Rato Pana
स्वास्थ्य

निलकण्ठ हस्पिटल अनुमति नै नलिई सञ्चालनमा, कुनै अप्रिय घटना घटे जिम्मेवार काे ?

अमित अग्रवाल

वीरगन्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मा बिभिन्न तामझामकासाथ १५ बेडको सुबिधासम्पन्न निलकण्ठ हस्पिटल एण्ड रिसर्च सेन्टर उद्घाट्न गरिएको थियो ।

यसरी स्थानीय प्रहरी प्रशासन एवं जनप्रतिनिधिको सहभागितामा गत असार १५ गते कार्यक्रम गरी उदघाट्न गरिएको १५ बेडको सुबिधासम्पन्न निलकण्ठ हस्पिटल एण्ड रिसर्च सेन्टर अनुमति नै नलिई सञ्चालनमा आएको छ । उद्घाट्न पश्चात निरन्तर सेवा दिइरहेको सुबिधा सम्पन्न १५ बेडको सो निलकण्ठ हस्पिटल एण्ड रिसर्च सेन्टर अस्पतालले सञ्चालनको अनुमति भने लिएको पाईएको छैन ।

१५ बेडसम्मको अस्पतालको अनुमति स्थानीय पालिकाले दिने प्रावधान रहेको छ । गत चैत २४ गते वीरगञ्ज महानगरपालिकामा अस्पताल दर्ता गर्न निवेदन परेपछि महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख अरुणकुमार महत्तोले असार १ गते अस्पताल पूर्वाधार निर्माण मनसायपत्र प्रदान गर्नुभएको थियो । पत्रमा बढीमा ३ वर्षभित्र अस्पतालको पूर्वाधार निर्माण सम्पन्न गरी संस्था सञ्चालन अनुमति लिई मात्र अस्पतालको सेवा सञ्चालन गर्न गराउन भनिएको छ । तर सोही मनसायपत्रलाई नै अनुमतिपत्र हो भन्दै अस्पताल सञ्चालकले निर्बाधरुपमा अस्पताल सञ्चालन गरिरहेका छन् ।

अस्पतालका सञ्चालकमध्येका डा. अभिनाश गिरीकाअनुसार निलकण्ठ हस्पिटल एण्ड रिसर्च सेन्टरमा १५ बेड, ३ आईसियू बेड र ५ एनआईसियू बेड सहित हड्डी, स्त्री तथा प्रसुती, पिडियाट्रिक, मेडिकल लगायतका ४ वार्डमा विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् । अस्पतालमा अहिले पनि ७ जना बिरामी भर्ना भई उपचार गराइरहेको र दैनिक ४० देखि १ सय जना चेकजाँच गराउन आउने गरेको डा. गिरीले बताउनुभयो ।

पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनुमति नलिई अस्पताल सञ्चालन गर्न पाईने व्यवस्था नरहेको बताउनु हुदै अस्पतालको विषयमा बुझ्ने र अनुगमन गरी अस्पतालको सेवा सुचारु अवस्थामा भए तत्काल आवश्यक कारवाही गर्न सहायक प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने बताउनुभयो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले प्रजिअबाट निर्देशन आइसकेको हुनाले अस्पतालको अनुगमन गरी सत्यतथ्य बुझ्ने बताउनुभयो ।

सम्वन्धित समाचार

Leave a Comment