वीरगञ्ज । सवारी दुर्घटना न्युनिकरण गर्न र ट्राफिक नियमको पालना गराउन वीरगञ्जमा साप्ताहिक ट्राफिक सचेतना अभियान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको सयुँक्त आयोजनामा साप्ताहिक सचेतना अभियान सुरु भएको हो ।
ग्रिनसिटी सामुदायिक सेवा तथा प्रहरी सेवा केन्द्र आदर्शनगरको सहकार्यमा सचेतनामुलक स्टिकर सवारीमा लगाउनुका साथै चेतनामुलक पर्चा पम्पलेट वितरण गरेर अभियानको शुभारम्भ गरिएको हो । आजदेखि सुरु भएको ट्राफिक सचेतना अभियान २०७८ पुष ४ गतेसम्म जारी रहने जिल्ला ट्राफीक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्कीले जानकारी दिए ।
सप्ताहिक सचेतना कार्यक्रमको उद्घाटन कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निश्चलराज पाण्डे, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, चण्डी प्रसाद गणका गणपति मनोज कार्की, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान लगायतले ट्राफिक नियमको पालना गर्नुका साथै अरुलाई पनि पालना गर्न अभिप्रेरित गर्नुपर्नेमा जोड दिएका थिए ।

साप्ताहिक अभियानअन्र्तगत आज पहिलो दिन आदर्शनगर क्षेत्र भएर चल्ने सवारी साधन, मोटरसाईकलमा स्टिकर लगाउनुका साथै चालक, एवम् पैदल यात्रुहरुलाईसमेत ट्राफिक नियम सम्बन्धी पर्चा वितरण गरिएको ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताए ।
प्रहरी निरीक्षक कार्कीकाअनुसार अभियानको दोस्रो दिन २८ गते वीरगञ्जको घण्टाघरसहित जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा मातहतका सबै अस्थाई ट्राफिक प्रहरी पोष्टहरुमा पर्चा वितरण, सन्देशमुलक जिंगल बजाउने, २९ गते बसपार्क, ड्राईपोर्ट परवानीपुरमा ठूला सवारी चालक र सहचालकलाई सचेत बनाउने लगायतका कार्यक्रम रहेका छन् ।
कार्यक्रममा पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्की, प्रहरी निरीक्षक शोभनविक्रम राणा, विपद व्यवस्थापन गुल्मका प्रहरी निरीक्षक नितेश सिँह, सामुदायिक सेवा केन्द्र मुर्लीका अध्यक्ष रामकुमार सर्राफ, छपकैयाका अध्यक्ष ग्यासुदिन मियाँ ठकुराई, डा. महेशसिँह धामी लगायतको उपस्थिती रहेको थियो ।







