Rato Pana
समाचार

हामी शिर झुकाउनु परे पनि नेपालसँग सम्बन्ध टुट्न दिँदैनौँ : भारतीय रक्षामन्त्री

काठमाडौँ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सम्बन्ध कहिल्यै बिगार्न नचाहेको बताएका छन् । उनले केही तत्त्वहरूले नेपाल र भारत बीच सम्बन्ध बिगार्न चाहेको भन्दै तर आफूहरु त्यसो हुन नदिने बताएका हुन् ।

मंगलबार भारतको उत्तराखण्ड राज्यमा एक कार्यक्रममा बोल्दै रक्षामन्त्री सिंहले त्यस्तो धारणा राखेका हुन् । त्यस राज्यमा उल्लेख्य मात्रामा नेपालीभाषीको समेत बसोबास रहेको छ । उक्त कार्यक्रममा बोलेको भिडियो उनले आफ्नै ट्विटरबाट सार्वजनिक गरेका छन् ।

सम्बोधनका क्रममा उनले भनेका छन्, ‘जहाँसम्म उत्तराखण्डको सवाल छ, नेपाल र तिब्बतको सीमा यससँग जोडिएको छ । नेपालसँग हाम्रो रोटी–बेटीको सम्बन्ध छ, सांस्कृतिक सम्बन्ध छ । तर म यो जानकारी तपाईँलाई दिन चाहन्छु कि केही तत्त्वहरू नेपाल र भारतबीचको सम्बन्ध खराब बनाउन चाहन्छन् । हामी यसो हुन दिदैनौँ । हामीलाई शिर झुकाएर रहनु परे पनि हाम्रो छिमेकी नेपालसँग सम्बन्ध टुट्न दिँदैनौँ ।’

उनले नेपालसँगको आफ्नो सम्बन्ध कहिल्यै बिग्रन नदिने बताए । तर दुई देश बीचको सम्बन्ध बिगार्न चाहने तेस्रो पक्ष वा तत्व को हो भन्नेबारे भने उनले केही पनि खुलाएनन् । उनको आशय सायद चीनप्रति हुन सक्छ, किनभने कतिपय भारतीय नेता र विश्लेषकहरूले नेपाल–भारत बीचको सम्बन्ध बिगार्नमा चीनको हात रहने बताउँदै आएका छन् ।

हाल उत्तराखण्डमा नेपाली मूलका पुष्कर सिंह धामी मुख्यमन्त्री बनेका छन् । रक्षामन्त्री सिंहले धामीकाे प्रशंसा गर्दै भनेका छन्, ‘उत्तराखण्डका युवा मुख्यमन्त्री राम्रा ‘अलराउन्डर’ हुन् । विकास विराेधीलाई क्लिन बाेल्ड (तहसनहस) गरिदिन्छन् ।’

तर उनले सम्बन्ध बिगार्न नचाहेको बताए पनि एकतर्फी रुपमा नेपाली भूमि मिच्दै बनाइएको लिपुलेक–मानसरोवर रोडबारे पनि उनी बोले । उक्त रोडबारे नेपालमा व्यापक विरोध भए पनि उनी भन्छन्, ‘तिब्बतसँग पनि हाम्रो भावनात्मक सम्बन्ध छ । यद्यपि आज अवस्था बदलिइसकेको छ ।’ मानसरोवर पुग्ने उक्त रोडको निर्माण कार्य सकिएको समेत उनले जानकारी गराए ।

सम्वन्धित समाचार

Leave a Comment