अन्जु कुमारी
वीरगंज । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक द्वारा प्रकाशन हुने मानव अधिकार बर्ष पुस्तक २०२२ का लागि पर्सामा संकलन गरिएको मानव अधिकार उल्लंघनका घटनाहरुमा कमी आउन सकेको छैन ।
आज आयोजना गरिएको समीक्षा गोष्ठीमा सार्वजनिक गरिएको तथ्यांकमा यस्तो देखाएको हो । पर्सामा विभिन्न ७५ वटा मानव अधिकार उल्लंघनका घटनाहरू भएका इन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले जानकारी दिएका छन् । त्यसमध्य १८ बर्षभन्दा कम उमेरका बलात्कारका ३७ वटा घटना भएको छ । १८ बर्षभन्दा माथिका बलात्कारका ९ वटा, १८ बर्षमाथिका बलात्कारका प्रयास ५ वटा, बालविवाहका घटना ४ वटा घटना भएको बताईएको छ ।
त्यस्तै मानव बेचविखनका ३ वटा, बोक्सीको आरोप २ वटा, हत्याका ५ वटा, कुटपिटको २ वटा, बहुविवाह ४ वटा, घटना भएका छन् । त्यसैगरी अप्राकृतिक मैथुन, गर्भपतन, बालयौन दूराचार, र बलात्कारका प्रयासका चारवटा घटना भएको जनाईएको छ ।
मानव अधिकार निगरानी समूह पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटा, नेपाल पत्रकार महासंघका प्रदेश २ महासचिव श्याम बञ्जरा, पर्सा अध्यक्ष अनुप तिवारी, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, मानव अधिकार संगठन पर्साका सचिव शिवनाथ यादव लगायतको उपस्थिती रहेको थियो ।







