वीरगञ्ज । साहिब दरबार सेवा संस्थान अध्यात्मिक केन्द्र वीरगञ्जको आयोजनामा महिला दिदी बहिनीहरुलाई लक्षित गरी सुरु भएको निशुल्क योग शिविर शुक्रबार (आज) सम्पन्न भएको छ ।
‘गरौँ योग, रहौँ निरोग’ भन्ने नाराकासाथ गएको १ गतेदेखि चलेको शिविरमा दैनिक ४० जनाभन्दा बढी महिला दिदीबहिनीहरुले योग प्रशिक्षण लिएका छन् ।
१५ दिनसम्म चलेको शिविरको आज एक कार्यक्रमकाबीच वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत शैलेन्द्र कुमार सिंहले समापन गर्नुभयो ।
शिविर समापन कार्यक्रमलाई सम्बोधन गर्दै महावाणिज्य दूत सिंहले १५ दिनसम्म शिविरमा सिकेका कुरा ब्यवहारमा उतार्न आग्रह गर्नु भयो ।
शरीर स्वस्थ बनाउन योगको महत्वपूर्ण योगदान रहेको भन्दै उहाँले यसलाई आफ्नै घरमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
अहिले विश्वभर नै योगको महत्व बढेको भन्दै उनले हरकोहीले योग साधनाबाट आफूलाई स्वस्थ्य राख्न सक्ने बताउनुभयो ।
संस्थानका अध्यक्ष राजेशमान सिंहले संस्थानले आम नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने कार्य गरिरहेको भन्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्य जारी राख्ने बताए ।
अहिले पनि वीरगञ्ज महानगरको विभिन्न वडाहरुमा निशुल्क आखा जाँच शिविर संस्थानकै आयोजनामा भइरहेको भन्दै त्यसबाट पनि लाभ उठाउन सबैलाई आह्वान गर्नुभयो ।
समापन कार्यक्रममा महावाणिज्यदूत शैलेन्द्र कुमार सिंह, श्रीमती निलम सिंहलाई संस्थाले मायाँको चिनोसहित सम्मान गरेको थियो ।
यस्तै १५ दिनसम्म शिविरमा सहभागी भएका सबै प्रशिक्षार्थी र प्रशिक्षकद्वय लालसा लालसा चौधरी र प्रतिमा सिंहलाई प्रमाण पत्रले सम्मान गरिएको थियो ।
शिविर समापन कार्यक्रममा संस्थानका कोषाध्यक्ष जिनु मैयाँ त्वायना, प्रेमबाबु पटेल, मुकेश द्विवेदी, संगिता दास, वकिल हवारी, अरुण सिंह, सुनिल कुमार गुप्ता, अफरोज आलम लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण संस्थानका महासचिव उमेशलाल सहनीले गर्नु भएको थियो ।







