अन्जु कुमारी
वीरगंज । मतदाता नामावलीको लागि निशुल्क रुपमा पाईने विवरण फारम सेवाग्राहिले खरीद गर्नुपर्ने बाध्यता सिर्जना गरीएको गुनासो गरेका छन् ।
हाल वीरगंज महानगरपालिका अन्तर्गत २ ठाउँमा मतादाता नामावली संकलन गर्ने कार्य भईरहदा जिल्ला प्रशासन कार्यालय पर्सामा मतदाता नामावलीमा आफ्नो नाम टिपाउन आएका सेवाग्राहीलाई सम्बन्धीत स्थानमा विवरण फारम नपाउँदा निशुल्क पाईने फारम ३ सय रुपैयामा किनेर भर्न पर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।
खासगरी टाढा टाढाबाट पर्साको ग्रामीण भेगबाट आएका सोझ साझा सेवाग्राहीसंग अवैध रुपमा रकम लिई फारम दिने कार्य परिसरभित्रै अन्य व्यक्तिहरुले गरिरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
मतदाता नामावली संकलन गराउन पर्साको ग्रामीण भेगबाट आएका एक सेवाग्राहिले भने नाम नबताउने शर्तमा उनले दुई दिनदेखी उक्त कार्यका लागि धाईरहेको तथा गाउँबाट आईपुग्न समय लाग्ने हुँदा कार्यालयमा आईपुग्दा सम्म फारम सकिएको भने जवाफ पाउने गरेको र फेरी फर्केर गएर भोलिपल्ट यसै कामका लागि गाउँबाट वीरगंज आउनुपर्ने भएकोले बाध्य भएर रकम तिरेर भएपनि परिसर भित्र फराम बेचिरहेकाहरुसंग खरीद गरेर फारम भरेर बुझाएको गुनासो गरेका छन् ।
अर्का सेवाग्राहीले पनि आफुलाई तीन सय भनिएपनि १ सय रुपैयामा फराम खरीद गरेको बताएका छन् । केही सेवाग्राहीले भने जनताले सहज रुपमा पाउनुपर्ने सेवा सुविधामा पनि निशुल्क रुपमा पाईने फारम पनि किनेर भर्नुपर्ने सास्ती रहेको गुनासो गरेका छन् ।
यसैगरी मतदाता नामावली संकलनका लागि एक जना कर्मचारी मात्रै रहेको कारण विहान कार्यालय खुल्नुभन्दा पहिलेदेखी नै सेवाग्राहीहरु लाईनमा बस्दा पनि कर्मचारी अभावका कारण ढिलो हुने गरेको र घर फर्कन समस्या हुने गरेको ग्रामीण भेगका स्थानीयले गुनासो गरेका छन् ।
