बीरगन्ज । पर्सामा ई–रिक्सा चालकको हत्या गरेको आरोपमा ५जना पक्राउ परेका छन् । आपसी झगडा हुँदा फलामको रिन्चले टाउकोमा प्रहार गरेर भारतको बिहार राज्य वैशाली घर भइ हाल बीरगन्ज महानगररपालिका वडा नं. ३ छप्कैया बस्दै आएका ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको थियो ।
गत पुस २२ गते मियाँको शव बीरगन्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले अनुसन्धानको क्रममा उनको हत्या भएको र हत्यामा संलग्न रहेका ५ जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
मियाँको हत्यामा संलग्न भएको आरोपमा बिहारको पूर्वी चम्पारण, मोतीहारी–६ घर भइ हाल बीरगन्ज छप्कैया बस्ने ई–रिक्सा चालक सुनिल कुमार, बारा परवानीपुर गाउँपालिका–५ बस्ने निकेश पटेल, बिहारको मुंगेरका घर भइ बीरगन्ज छप्कैया बस्ने सपन मण्डल, भारत बिहार घर भइ बीरगन्ज छप्कैया बस्ने नाजिर हुसैन र छपकैया बस्ने बाबर हुसैनलाई प्रहरीले पक्राउ गरेको हो।
मियाँ र पक्राउ परेका मण्डल एउटै घरमा डेरा गरी बस्दै आएका थिए । उनीहरुबीच केही दिनअघि झगडा भएपछि मण्डलले मियाँको हत्या गरी फालिदिने भनि धम्की दिएका थिए । उनले सुनिललाई भेटी मियाँको हत्या गर्नको लागि ५० हजार रुपैयाँ दिएको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएका छन् ।
सुनिल र निकेशसहित तीनजनाले फलामको रेन्चले मुख्तारलाई टाउकोमा अन्धाधुन्ध प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुलेको हो । मियाँको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरिएको र एक जना भारतीय नागरिक फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।







