Advertise:
वीरगन्ज । मंगलबार बिहान पोखराबाट आएका बाराका माजिद अन्सारीलाई अर्धचेत बनाई लुट्ने तीन जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
पक्राउ पर्नेमा बीरगन्ज वडा नं. १५ का सुमन श्रेष्ठ, विकाश थापा मगर र रमेश कुमार साह सोनार रहेका छन् ।
मंगलबार बिहान ९ बजे बीरगन्जस्थित बसपार्कमा बसबाट ओर्लिएका बारा सिम्रौनगढ नगरपालिका वडा नं. ७ पर्सा टोला बस्ने वर्ष २३ का अंसारी बिरामी भई सडक छेउमा बोल्न नसक्ने अवस्थामा बसिरहेकोमा उनी लुटिएका हुन् ।
लुटेराहरुले अन्सारीलाई ना.२.ह. २७३६ नं. को अटोरिक्सामा चढाई साथमा रहेको मोबाइल फोन र नगद समेत लुटेर अर्धचेत बनाई छोडेका थिए ।
अर्धचेत अवस्थामा बीरगन्ज वडा नं. १५ प्रतिमाचोकस्थित सडकछेउमा छोडेकोमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको टोलीले दिउँसो ३ बजे उद्दार गरेको जनाइएको छ ।
साथै, अन्सारीलाई लुट्ने व्यक्तिहरुलाई तत्काल पक्राउ गरी अपहरण तथा डाँका सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रवक्ता खनालले जानकारी दिए ।
