Rato Pana
समाचार

मृत्युसंकारमा पनि देखासिकी, कपडा किन्न मात्रै ऋण काडेर एक लाख खर्च

जाजरकोट । नलगाड नगरपालिका–८ का दीपक सिंहले बुबाको अन्त्येष्टिमा ५० थान कपडाबाट छ सय मिटर ‘बाट’ को प्रयोग गर्नुभयो । बाबुको अन्त्येष्टिका लागि कपडा किन्न मात्रै एक लाख रुपियाँ खर्च भएको उहाँले बताउनुभयो ।

सोही ठाउँका पदमबहादुर खत्रीले पनि आमाको मृत्यु हुँदा ४० थान कपडा अथवा लामो ‘बाट’ हालेर दाहसंस्कार गर्नुभयो ।

सिंह र खत्री मात्र होइन, अधिकांश जाजरकोटीले वर्षौंदेखि आफन्तको अन्त्येष्टिमा लामो कपडा हाल्दै आएका छन् ।

शवलाई घरबाट उठाएर अन्तिम संस्कारका लागि नदी तथा खोला किनारमा लैजाँदा सेतो, नीलो, रातो र पहेँलो रङको कपडा कम्तीमा तीन थानदेखि अधिकतम एक सय थानसम्म प्रयोग गरिँदै आएको छ । यसरी अन्त्येष्टिका लागि घरदेखि घाटसम्म पु(याउँदा कपडामा नै लाखभन्दा बढी रुपियाँ खर्च हुने बताइएको छ ।

अन्त्येष्टिमा कपडाको प्रयोगकै आधारमा गाउँघरमा धनी र गरिब भनेर समाजले छुट्याउने गरेको ८५ वर्षीय कर्णबहादुर रावलले बताउनुभयो । इज्जत र प्रतिष्ठासँग जोडेर अरूलाई देखाउन साहुसँग ऋण काढेर भए पनि लामो ‘बाट’ हाल्ने होडबाजी चल्दै आएको उहाँले जनाउनुभयो ।

अन्तिम संस्कारका लागि शवलाई घरबाट घाट लैजाँदा अगाडि टाँग्दै लगिने कपडाबाट दिवङ्गतका आत्मा स्वर्गमा पुग्छ भन्ने विश्वास छ । त्यसैले गाउँमा कतिपय बूढापाका अहिले पनि आफ्ना लागि आफैले धेरै थान कपडा किनेर राख्ने गर्छन् ।

जति लामो ‘बाट’ हालिन्छ उति छिटो स्वर्गमा पुगिन्छ भन्ने अन्धविश्वासले गर्दा बूढापाकाले आफ्नो लागि आफैँले कपडा किनेर राख्ने चलन रहेको स्थानीयवासीको भनाइ छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

सम्वन्धित समाचार

Leave a Comment