Categories समाचार

अमेरिकाले युक्रेनका राष्ट्रपतिलाई देश छाड्न प्रस्ताव, राष्ट्रपतिद्वारा अस्वीकार

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई देश छाड्न अमेरिकाले आग्रह गरेको छ । तर उनले भने ‘युक्रेनबाट उनलाई उद्धार गर्ने’ वाशिङ्टनको प्रस्तावलाई अस्वीकार गरेका छन् ।

अमेरिकी सञ्चारमाध्यमहरूले जनाए अनुसार अमेरिकाले राष्ट्रपति जेलेन्स्कीलाई सकुशल अमेरिका लैजाने प्रस्ताव राखेको थियो । जवाफमा उनले भनेका छन्, “लडाइँ यहाँ भइरहेको छ। मलाई हतियार चाहिएको छ, कुनै सवारी होइन ।” अमेरिकी समाचार संस्था एपीले वार्तालापबारे जानकारी भएका एक वरिष्ठ गुप्तचर अधिकारीलाई इङ्गित गर्दै जेलेन्स्कीले त्यसो भनेको जनाएको हो।

Advertisement

बिबिसीका अनुसार अमेरिकी र युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सरकार जेलेन्स्कीलाई सहयोग गर्न तयार रहेको समाचार द वाशिङ्टन पोस्टले पनि छापेको छ ।

Advertisement

पछिल्लो समय रुसले सानो मुलुक युक्रेनमाथि आक्रमण गरेको छ । तर उक्त हमलाविरुद्ध राष्ट्रपति जेलेन्स्कीले निरन्तर लड्ने प्रतिक्रिया दिएका छन् । उनको यस प्रतिबद्धताको समाजिक सञ्जालमा प्रशंसा भइरहेको छ ।

विगतमा हास्यव्यङ्ग्यकार तथा अभिनेता समेत रहेका उनले एक सम्बोधनमा भनेका छन्, “जब तिमीहरूले हामीलाई आक्रमण गर्छौ, हामी त्यसको सामना गर्छौं, भाग्दैनौँ ।”

उनले आफैँले खिचेको एउटा भिडिओ पनि पोस्ट गरेका छन् जसमा उनी र उनका सहयोगीहरू किएभमा देखिन्छन् । उनले भनेका छन्, “हामी सबै यहाँ छौँ र यो यस्तै भइरहन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *