वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्षसहित वडा अध्यक्षहरुले उपप्रमुखलाई कुटपिट गरेर अस्पताल भर्ना गराएका छन् ।
गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले वडा अध्यक्ष सलीम अन्सारी र रुपलाल यादवसँग मिलेर गाउँसभाको बारेमा बुझ्न गएकी उपाध्यक्ष फुलमती कुमारी थरुइनमाथि हातपात गरेका हुन् ।
कुटपिटबाट घाइते भएकी थरुइन अहिले अस्पतालमा भर्ना छिन । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेकी उनको देब्रे हात र छातीमा चोट लागेको उनका श्रीमान् शिवनाथ थारूले बताए ।
गाउँपालिकाकी उपाध्यक्ष थरुइनीले आफूलाई अध्यक्ष जयसवाल र वडा अध्यक्षद्वय अन्सारी र यादवले कोठामा थुनेर हातपात गरेको आरोप लगाएकी छिन् ।
अध्यक्ष जयसवालले आफू निकट जनप्रतिनिधिहरुसँग मिलेर लुकिछिपी गाउँसभा र विभिन्न निर्णयहरु गरेको जानकारी पाएपछि सो विषयमा कुराकानी गर्न पुगेको बेला आफूमाथि हातपात भएको थरुइनको भनाई छ ।
“गाउँसभा लुकिछिप किन गरेको भन्दै प्रश्न गर्दा सबैले मिलेर मेरो हात निमुठी कुटपिट गरे र त्यसपछि जबर्जस्ती मलाई कोठाभित्र लगेर थुनिदिए,” उनले भनिन् ।
घटनाबारे प्रशासनलाई जानकारी गराएपछि स्थानीय प्रहरीको सहयोगमा आफ्नो उद्धार भएको उनको भनाई छ ।
थरुइनका अनुसार गाउँपालिका अध्यक्ष जयसवालले कर्मचारी र जनप्रतिनिधिसँग मिलेर करोडौँ भ्रष्टाचार गरेका छन् । विकास निर्माणको काम बारे जानकारी माग्दा जयसवालले अदालतमा गएर लिन प्रतिक्रिया दिने गरेको उनि बताउँछिन् । उनी थप्छिन्, “अध्यक्ष जयसवालले पटक–पटक मसँग दुर्व्यवहार गर्छन, उपाध्यक्ष हुँदाहुँदै पनि मसँग एउटा सामान्य व्यक्ति सरह व्यवहार गर्छन ।”
यता, गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले उपाध्यक्षद्वारा लगाइएको सबै आरोपहरु निराधार भएको भन्दै पन्छिन खोजे । कुराकानी गर्दै अध्यक्ष जयसवालले भने, “उपाध्यक्षमाथि कुनै हातपात भएको छैन । सामान्य मौखिक विवादलाई उनले बंग्याएर हातपातको संज्ञा दिएकी हुन् ।”
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले घटना बारे अनुसन्धान भइरहेको बताए । ‘गाउँपालिका प्रमुख र उपप्रमुख विच विवाद भएको भन्ने बारे जानकारी आएको छ । उपाध्यक्षको सुरक्षामा प्रहरी खटाएको छु । यस विषयमा थप अनुसन्धान जारी छ,’ एसपी बस्नेतले संवादका क्रममा भने ।यात्रा डेली








