शुभकामना साटासाट गरिँदै ।
वीरगन्ज । विक्रम संवत २०७९ साल प्रारम्भ भएको छ । नयाँ वर्षको अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीबिच एकापसमा शुभकामना आदानप्रदान गरि बिहीबार नयाँ वर्ष उत्साह र उमङ्गका साथ मनाइँदैछ ।
नयाँ वर्ष २०७९ मा विभिन्न पार्टीका नेताहरुले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, प्रगति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।
सरकारले नयाँ वर्षको उपलक्ष्यमा सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थालगायत सबै क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । सूर्यले मीन राशिको भोग समाप्त गरि मेष राशिबाट भोग सुरु गर्ने दिन वैशाख सङ्क्रान्तिलाई वर्षको पहिलो दिनका रुपमा लिने गरिन्छ । हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता–असफलता मूल्याङ्कन गरि असफलता दोहोरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्दछन् ।
नयाँ वर्षको पहिलो दिन बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, देवीदेवताको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना साटासाट गर्ने प्रचलन रहिआएको छ । आजको दिन स्नान र दान गरेमा पुण्य कमाइने धार्मिक विश्वास रहेको छ ।
नयाँ वर्षका अवसरमा हरेक वर्षझै वीरगन्ज आदर्शनगरस्थित ग्रिनसिटीमा हिजो राति फुड फेस्टिभल र सांगीतिक साझ आयोजना गरिएको थियो ।







