काठमाडौँ । नेकपा एमालेभित्र उम्मेदवार छनोट प्रक्रिया नमिलेको भन्दै विवाद उत्पन्न भएको छ। खासगरी पार्टीभित्र एमालेका उपाध्यक्ष ईश्वर पोखरेल, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, खगराज अधिकारीलगायतले पार्टीभित्र आफूनिकटका नेताहरूले टिकट पाउनुपर्ने भन्दै अडान राख्न थालेपछि मध्यमार्गी धार खोज्दा झन् विवाद भएको हो। पोखरा र विराटनगर, ओखलढुंगा, कैलाली, इलामलगायतका जिल्लामा ‘भूमिगत गुटगत’ समूह हाबी भएको स्रोतको दावी छ। उच्च नेताहरूले आफ्नो जिल्ला र आफू निकटका नेताहरूलाई अगाडि सार्न खोज्दा विवाद बढेको छ।
पार्टीभित्रका कार्यकर्तालाई बेवास्ता गरेको बाहिरबाट आएका व्यक्तिले टिकट लिएको र टिकट छनोट प्रक्रियामा पार्टीको ध्यान नपुगेको भन्दै विवाद उत्पन्न भएको हो। महत्वपूर्ण स्थानमा विवाद आएका कारण सोमबार मात्रै सबै स्थानमा मनोनयन दर्ता गर्ने जनाएको छ। विवादकै कारण एमालेले विराटनगर महानगरपालिाको मेयरको उम्मेदवार टुंग्याएको छैन। एमालेका अध्यक्ष केपी ओली आफैंले त्यहाँको उम्मेदवार टुंगो लगाउने बताएका छन्। विराटनगरमा धेरैजना उम्मेदवार रहेका कारण त्यहाँ पार्टी अध्यक्ष ओली आफैंले टुंगो लगाउने भएका हुन्।
प्रदेश १ को सोलुखुम्बुको दूधकुण्ड नगरपालिकाको उम्मेदवार छनोटको विषयलाई लिएर निवर्तमान उपमेयर कल्पना राईलगायतका नेताहरूले पार्टी छाड्न घोषणा गरिसकेका छन्। एमालेको सबैभन्दा बढी मतदात रहेको नगरपालिकामै विवाद देखिएको छ। त्यहाँ नेपाली कांग्रेसबाट भर्खरै एमाले प्रवेश गरेका विवादास्पद छविका काजी शेर्पालाई मेयरको उम्मेदवार बनाएपछि असन्तुष्टि देखिएको हो।
काजी शेर्पालाई मेयरमा टिकट दिइएपछि निवर्तमान उपमेयर राईले एमाले परित्यागको घोषणा गरेकी हुन्। साथै जिल्ला कमिटी सचिवालय सदस्य वीरउदास श्रेष्ठ युवा संघका केन्द्रीय सदस्य योगेन्द्र श्रेष्ठले पनि पार्टी छाडेको घोषणा गरेका छन्। एमाले सोलुमा व्यापक असन्तुष्टि देखिएको छ। त्यहाँ एमालेका नगर अध्यक्ष मिङमा शेर्पालगायतका धेरै नेताहरू असन्तुष्टि जनाएका छन्।

याे खबर नागरिक दैनिकमा छ ।






