काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा ७५३ वटै स्थानीय तहका मतगणनास्थलमा अनिवार्यरुपमा सिसी क्यामराको प्रबन्ध गर्न लगाएको छ ।
मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको हो । सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरिसकेको छ ।
आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले कुनैकुनै पालिकामा उक्त क्यामरा राख्नैपर्ने नपर्ने भनेर सोधनी भएको उल्लेख गर्दै आयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने र राख्न नचाहनुको अर्थ त्यहाँ कुनै गडबडी गर्न लागिएको त होइन ? भन्ने प्रश्न उत्पन्न बताए ।
यसैगरी यसपटकको निर्वाचनमा फोटोसहितको नामावलीलाई लाहा छाप लगाएर मात्रै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई पठाइएको छ । आयोगले रङ्गिन र श्यामस्वेत दुवै रंगमा प्रिन्ट गरी फोटोसहितको मतदाता नामावली दल सम्बन्धित पालिकागत आधारमा पठाएको आयोगका प्रवक्ता एवं सहसचिव पौडेलले बताए ।
मतदाताले हेर्न चाहेमा आयोगका वेबसाइटमा नामावलीको सूची मात्रै हेर्न सक्नेछन् । निर्वाचनका लागि कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् । यसैबीच आयोगले प्रदेश निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँग आज भर्चुअल माध्यमबाट बैठक गरी निर्वाचन सामग्री र मतपत्रको ढुवानी र समग्र व्यवस्थापकीय तयारीबारे जानकारी लिएको छ ।
बैठकमा प्रदेश र जिल्लास्तरबाट उठाइएका विषयमा स्पष्ट पार्दै आयोगका प्रवक्ता पौडेलले निर्वाचनको मिति आउन दुई साता मात्रै बाँकी रहेको स्थितिमा जिम्मेवारीको संवेदनशीलतालाई बोध गरी सक्रिय र प्रोएक्टिभ हुन निर्देशन दिँदै जिल्लास्तरमा जनशक्ति नियुक्त गर्दा व्यावसायिकता र सक्षमतालाई प्राथमिकता दिन आग्रह गरे ।





