Categories समाचार

कुन दलबाट कति निर्विरोध निर्वाचित भए ?

Advertisement

काठमाडाैँ । स्थानीय चुनावमा उम्मेदवारी दिएकामध्ये हालसम्म तीन सय ५३ जना निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले विभिन्न पदमा गरी सोमबारसम्म तीन सय ५३ जना निर्विरोध भएको बताएको छ।

०७४ को निर्वाचनमा चार सय १२ जना निर्विरोध भएका थिए। यसपालि पनि यो संख्या बढ्न सक्ने आयोग बताउँछ।यसपालि पाँच दलीय सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित गठबन्धन चुनावी मैदानमा छ। गठबन्धन नगरी केही दल र स्वतन्त्रले पनि उम्मेदवारी दिएका छन्।

Advertisement

आयोगका अनुसार अहिलेसम्म निर्विरोध हुनेमा सत्तागठबन्धनबाट धेरै छन्। सत्तागठबन्धनतर्फ एक सय ९० जना निर्विरोध भए। नेपाली कांग्रेसले एक सय एक पदमा जितेको छ। नेकपा माओवादी केन्द्रले ५४, नेकपा एकीकृत समाजवादीले ३४ र जसपाले एक पदमा निर्विरोध भएको छ।

Advertisement

यस्तै नेकपा एमाले एक सय २३ पदमा निर्विरोध भएको छ। वैशाख ३० मा हुने स्थानीय चुनावका लागि वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता भएको थियो। वैशाख १६ मा उम्मेदवारी फिर्ता लिने समय थियो।

यसपालि चुनावमा ३५ हजार दुई सय २१ पदमा निर्वाचन हुँदैछ। निर्विरोध भएका पदमा भने चुनाव हुने छैन। यसपालि एक सय ७० दलित सदस्य पदमा उम्मेवारी नै नपरेको आयोगले बताएको छ। ०७४ मा एक सय ७६ दलित सदस्य पदमा उम्मेदवारी परेको थिएन।

कुन दलले कति जिते?

नेकपा एमाले

नेकपा एमालेले एक अध्यक्ष निर्विरोध जितेको छ भने दुई उपाध्यक्ष जितेको छ। १४ जना वडाध्यक्ष, २६ जना वडा सदस्य, २३ जना महिला सदस्य र ५७ जना दलित महिला सदस्यले जितेका छन्।

नेपाली कांग्रेस

कांग्रेसले एक उपाध्यक्ष निर्विरोध जितेको छ। यस्तै १४ वडाध्यक्ष, ३१ वडा सदस्य, १५ महिला सदस्य र ४० दलित महिला सदस्य जितेको छ।

नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रका तीन वडाध्यक्ष निर्विरोध भएका छन्। पाँच वडा सदस्य, सात महिला सदस्य र ३९ जना दलित महिला सदस्य निर्विरोध भएका छन्।

नेकपा एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले दुई गाउँपालिका अध्यक्ष जितेको छ। एक उपाध्यक्ष निर्विरोध भएको छ। छ जना वडाध्यक्ष, १२ जना सदस्य, सात महिला सदस्य र ६ दलित महिला सदस्य निर्विरोध भएका छन्।

राप्रपा

राप्रपाबाट दुई जना वडा सदस्य निर्विरोध भएका छन्।

स्वतन्त्र

स्वतन्त्रबाट ६ जना वडाध्यक्ष निर्विरोध भएका छन्। १६ जना वडा सदस्य निर्विरोध भए भने ८ जना महिला सदस्य निर्विरोध भएका छन्। स्वतन्त्रबाट चार जना दलित महिला सदस्य निर्विरोध भएका छन्।

साथै राष्ट्रिय जनमुक्ति पार्टीबाट एक जना महिला वडा सदस्य निर्विरोध भएकी छन्। लोकतान्त्रिक समाजवादी पार्टीबाट एक दलित महिला सदस्य, जनता समाजवादी पार्टी एक दलित महिला सदस्य, नेपाल मजदुर किसान पार्टीबाट दुई दलित महिला सदस्य निर्विरोध भएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *