Rato Pana
राजनीति

भ्रष्टाचारी र घुसखोरहरुको समय सक्यो, अब जनताले विकास गर्ने व्यक्तिलाई मात्र मतदान गर्छन : राजेशमान सिंह

वीरगञ्ज, २६ बैशाख । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बेलवाका बासिन्दाले गठबन्धनबाट मेयरका साझा उम्मेदवार राजेशमान सिंहको जित सुनिश्चित भएको बताएका छन् ।

पाँच दलीय गठबन्धनको मेयरको साझा उम्मेदवार सिंहले नै अब बेलवासहित अन्य ग्रामिण वडाका नागरिकको विश्वास पात्र भएको बेलवाका स्थानीय जयनारायण यादवको भनाई छ । बेलवामा सिंहको रोड शोमा सहभागीहरुले गत निर्वाचनमा पराजय भएर पनि विभिन्न आपत विपतमा जनताकै सेवामा समर्पित भएका सिँह नै महानगरको मेयरका लागि योग्य व्यक्ति भएको बताएका हुन् ।

रोड शोका क्रममा बेलवाका बासिन्दासँग कुराकानी गर्दै मेयरका उम्मेदवार सिंहले अब भ्रष्टाचारी र घुसखोरीको समय सकिएको बताए । वीरगञ्जबासीलाई झुठा आश्वासन दिएर मधेशी जनताको मतबाट पदमा पुगेर अहिले मतको अपमान गर्दै मधेशविरोधी पार्टीमा प्रवेश गरेका व्यक्तिलाई अब जनताले विश्वास नगर्ने सिंहको भनाई छ ।

ग्रामिण वडालाई सडकसञ्जालमार्फत महानगरसँग जोडिने र नगरबासीलाई परिवर्तनको प्रत्याभुती गराउने सिंहको प्रतिबद्धता छ । उनका अनुसार जनतालाई बिकासको आभाष दिलाएर प्रशासनिक कामलाई सहज, सरल र पारदर्शी बनाइने छ ।

त्यसैगरी कार्यक्रममा सहभागी प्रदेशसभा सदस्य जनत अन्सारीले महानगरको यसअघिका मेयरले विकास निर्माणको कुनै काम नगरेको र जनतालाई साढे ४ वर्षसम्म मुर्ख मात्र बनाएको आरोप लगाए । अन्सारीले भने, ‘यसअघिका मेयरले जनतालाई मुर्ख मात्र बनाएका छन् । कमिसनको चक्करमा विकास निर्माणको कुनै काम गरेनन् अहिले जनताले प्रश्न गर्दा प्रदेश र केन्द्रीय सरकारमाथि दोष थोप्दै छन् ।’

बेलवामा हजारौको उपस्थितीमा भएको रोड शोमा जसपाका नेता एवम् कार्यकर्ताहरुले सिंहको समर्थनमा नाराबाजी गरेका थिए । कार्यक्रममा जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल लगायतको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

Leave a Comment