Categories समाचार

मादक पदार्थ सेवन गरेका व्यक्तिले मतदान गर्न नपाउने

काठमाडौं : स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनमा मादक पदार्थ सेवन गरेका व्यक्तिले मतदान गर्न नपाउने भएका छन्।

निर्वाचन आयोगले मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भए पनि मतदान केन्द्रमा प्रवेश गर्न नदिन मतदान अधिकृतलाई निर्देशन दिएको छ।

Advertisement

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै मापसे गर्नेलाई केन्द्रभित्र प्रवेश गर्न नदिइने उल्लेख गरेका छन्।

Advertisement

त्यस्तै मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री लिन नपाउने आयोगले जानकारी गराएको छ।

‘सलाई, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै वस्तु लैजान नपाइने,’ आयोगले भनेको छ।

आयोगले निषेध गरेका कार्य कहींकतैबाट भएमा कानून बमोजिम कारबाही हुने चेतावनी विज्ञप्तिमा दिइएको छ।

आयोगले मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्तिलाई प्रवेश दिन भनेको छ।

त्यसैगरी महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नावालक एवम् दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको जानकारी गराएको छ।

आयोगले मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढंगले सञ्चालनमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालालाई अपिल गरेको छ।

आयोगले मतदाता परिचयपत्र बाहेक नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी र जग्गाधनी प्रमाणपूर्जा देखाएर पनि मतदान गर्न पाउने व्यवस्थासमेत गरेको छ। अन्तिम मतदाता नामावलीमा रहेको नामसँग भिडाएर अन्य सरकारी परिचयपत्रले मतदान गर्न पाइने आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *