Rato Pana
समाचार

श्रीमान्ले मलद्वारमा लौरो घुसाएर यातना दिएका महिलाको मृत्यु ।

वीरगन्ज । श्रीमानको चरम यातनाबाट गम्भीर घाइते भएकी चितवनको खैरहनीकी गीता माझीको उपचारको क्रममा मृत्यु भएको छ । माझीको सोमबारराति भरतपुर अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक नरहरि अधिकारीले जानकारी दिए ।

खैरहनी नगरपालिका वडा नम्बर १० कठार घर भएकी ३८ वर्षीया माझीलाई उनका श्रीमान रामचन्द्र माझीले पटक–पटक कुटपिट गर्दै आएका थिए । पछिल्लो पटक रामचन्द्रले गीताको मलद्वारबाट लौरो घुसाएर यातना दिएपछि उनी गम्भीर घाइते भएकी थिइन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार गीताको मलद्वार र यौनाङ्ग बीचको भाग च्यातिएको थियो ।

गत बिहीबार घाइते भएकी उनको भरतपुर अस्पतालमा सोमबार शल्यक्रिया गरिएको थियो । तर सोमबार राति ११ बजेतिर एक्कासी मुटुको धड्कन बन्द भएर उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
गीताका श्रीमान रामचन्द्र प्रहरीको हिरासतमा छन् । उनलाई ज्यान मार्ने उद्योग र जबरजस्ती करणीमा मुद्दा दर्ता गरिएको छ ।

सोमबारसम्म उनका विरुद्ध किटानी जाहेरी परेको छैन । जाहेरी गर्ने मानिस नभएर प्रहरीले आफ्नै प्रतिवेदनमा आधारित भएर मुद्दा चलाएको छ । गीताका ३ छोरी छन् । उनी ज्याला मजदुरी गर्थिन् । रक्सी खाने पैसा नदिएको भनेर श्रीमान् रामचन्द्रले गीतालाई कुट्ने गरेको स्थानीय बताउँछन् । अनलाइनखबर

सम्वन्धित समाचार

Leave a Comment