वीरगन्ज । पर्सा जिल्लाका निजी विद्यालयहरूमा यस वर्ष कमिशनको चलखेल बढेको छ । जेठ २ गतेदेखि नयाँ शैक्षिक सत्र शुरू भएको र यसपटक कक्षा १ देखि ४ र कक्षा ६, ७ र ९ का पाठ्यपुस्तक परिवर्तन भएका छन् । परिवर्तन भएका पुस्तक बिक्रीका लागि पुस्तक पसलेहरूले विद्यालयहरूलाई दुईदेखि पाँच लाखसम्म कमिशन दिएका छन् ।
कमिशनपछि विद्यालयहरूले विद्यार्थी र अभिभावकलाई अनिवार्यरूपमा तोकिएका पुस्तकपसलबाट पुस्तक खरीद गर्न बाध्य बनाएका छन् ।
यसपटक विद्यालयले अभिभावक र विद्यार्थीहरूलाई चिट दिएर तोकिएको पसलबाट पुस्तक खरीद गर्न दबाब दिएको एकजना अभिभावकले बताए । सरकारले विद्यालयबाट पाठ्यपुस्तक बिक्री गर्न नपाउने र अभिभावकहरूले अनुकूल पुस्तकपसलबाट पुस्तक खरीद गर्न सक्ने व्यवस्था गरे पनि यसपटक खुलेआम चिटबाट अभिभावकहरूलाई तोकिएका पुस्तकपसलबाट पुस्तक खरीद गर्न लगाइएको छ ।
प्रत्येक प्रकाशनले विक्रेतालाई २५ देखि ४० प्रतिशतसम्म कमिशन दिने गरेको छ । सो कमिशनबाट पुस्तकपसलेले यसअघि अभिभावकहरूलाई १० देखि २० प्रतिशतसम्म छुट दिंदै आएका थिए तर यसपटक त्यस्तो छुट नपाइएको अभिभावकहरूको गुनासो छ ।
अहिले जिल्ला प्रशासन कार्यालय, पर्साको उत्तरतर्फ रहेको पूजा, लक्ष्मी, गणेश पुस्तक पसलमा पुस्तक खरीदको लागि भीड देख्न सकिन्छ । कतिपय पुस्तकहरू अहिले प्रकाशन भएर बजार आइसकेका छैनन् ।
स्रोतका अनुसार रिडमोर पब्लिकेशनले सामाजिक विषयको पुस्तक बिक्री गरेबापत प्याब्सन, पर्सालाई १२ लाख दिने सहमति गरेको छ । यसैले यसपटक सामाजिक पुस्तक बिक्री शुरू गरिएको छ ।
यसअघि मेरो सेरोफेरो पुस्तकमा विज्ञान, सामाजिक, स्वास्थ्य र सामान्य ज्ञानको व्यवस्था थियो तर कमिशनको लागि विज्ञान, सामाजिक र सामान्य ज्ञानका छुट्टै प्रकाशन बिक्री गराउन लगाइएको छ । स्रोतका आनुसार ओशियन पब्लिकेशनले विज्ञान पुस्तक बिक्री गराएबापत प्याब्सन केन्द्रलाई रु एक करोड दिने मौखिक सहमति गरेको छ ।
रोक लगाइएको पुस्तक पनि बिक्री
सरकारले तोकेको मूल्यभन्दा बढी मूल्य राखेको भन्दै ओशियन पब्लिकेशनको कक्षा ७ का सबै पुस्तक बिक्रीमा प्रतिबन्ध लगाएको छ । सरकारले लगाएको प्रतिबन्ध अनुसार वीरगंज महानगरपालिकाले पनि सो प्रकाशनको कक्षा ७ का पुस्तक बिक्रीमा रोक लगाएको छ । तर अहिले महानगरमा बढी मूल्य अङ्कित ओशियन पब्लिकेशनको कक्षा ७ का पुस्तक बिक्री भइरहेको र त्यसमा महानगरले कुनै चासो नदेखाएको अभिभावकहरूले बताएका छन् ।
सामुदायिक विद्यालय पुस्तकविहीन
जेठ २ गतेदेखि नयाँ शैक्षिक सत्र सञ्चालन भएपनि सामुदायिक विद्यालयहरूमा पुस्तक आएको छैन । दुई साताभन्दा बढी समयदेखि विद्यालय सञ्चालन भएपनि पुस्तक नआउँदा पर्सा जिल्लाभरि वितरण हुन नसकेको स्रोतले जनाएको छ ।
अहिले पुस्तकविना नै सामुदायिक विद्यालयहरूमा अध्यापन भइरहेको छ । संभार- प्रतिक दैनिक



