वीरगञ्ज । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले गरिबीका कारण उपचारमा कठिनाइ भोगेका परवानीपुरका लक्ष्मण रामको उपचारमा लागेको सम्पूर्ण खर्च व्यहोरेका छन् ।
गएको जेठ १५ गते छाडा साढेको आक्रमणमा परी राम गम्भीर घाइते भएका थिए । स्पर्श हस्पिटलमा उपचार गरिरहेका रामको आर्थिक अवस्था खराब रहेको जानकारी पाएपछि नगरप्रमुख सिंह उनलाई भेट्न एक साताअघि अस्पतालमै पुगेका थिए ।
उपचारमा लाग्ने सम्पूर्ण खर्च आफूले व्यहोर्ने भन्दै उनले रामको उपचारमा कमी नगर्न अस्पताललाई निर्देशन दिएका थिए । नगरप्रमुख सिंहले गरेको प्रतिबद्धता बमोजिम नै रामको उपचारमा लागेको १ लाख ८० हजार रुपैयाँ बिहीबार उपलब्ध गराइएको हो ।
‘छाडा चौपायको आक्रमणबाट घाइते बनेका त्यसमा पनि आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा कुनै कमी हुनुहुन्न भनेर मैले भनेको थिए,’ नगरप्रमुख सिंह भन्छन्, ‘त्यही अनुरुप मानवीय सेवाभावले उपचारमा लागेको खर्च मैले व्यहोरेको हुँ ।’
खर्च उपलब्ध भएसँगै अस्पतालले रामलाई डिस्चार्ज गरेर घर पठाएको छ । ‘उपचारपछि उहाँको स्वास्थ्य ठिक भएकाले हामीले घर जान डिस्चार्ज गरिदियौँ’ अस्पताल प्रशासन भन्छ, ‘केही दिनमा फलोअपमा आउने गरी हामीले अहिले घर पठाएका हौँ ।’
गएको जेठ १५ गते छाडा साढेको आक्रमणबाट वीरगञ्ज २४ परवानीपुरका राम गम्भीर घाइते भएका थिए । करिब दश दिन अस्पतालमा राखेर उपचार गराएपछि स्वास्थ्यअवस्था सुधार भएको हो ।
यसैबीच वीरगञ्ज महानगरपालिकाले छाडा चौपाय नियन्त्रण अभियान अघि बढाएको छ । बजारमा छाडा छाडिएका गाई, साढे, बाच्छाबाच्छी नियन्त्रणमा लिएर नगर कटाउने काम गरिरहेको छ ।
छाडा चौपाय नियन्त्रण चुनौति बन्दा महानगरले छाडा छाडिएका चौपायलाई नियन्त्रणमा लिएर सोझै हेटौडाको गौशालामा पु¥याउने अभियान अघि बढाएको हो । नगरलाई छाडा चौपाय मुक्त बनाउन यस्तो अभियान चालिएको नगरप्रमुख सिंहले बताए ।
सामान्य जरिवाना र चेतावनी दिएर छाड्दा अटेरी गर्ने क्रम बढेपछि बाध्यभएर छाडा चौपाया नियन्त्रणपछि जफत गर्ने र ती चौपायालाई हेटौडा गौशालामा पुर्याउनु परेको उनी बताउँछन् ।







