वीरगन्ज । गत असार १२ गतेबाट सुरु भएको लागुऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको ७ दिने अभियान मंगलबार पनि जारी रह्यो । विपद्मा स्याहार भन्ने नाराका साथ सुरु भएको अभियानको तेस्रो दिन सूचना सम्प्रेषण दिवसको रुपमा मनाइएको छ । लागुऔषध तथा अपराध विरुद्ध जनचेतना प्रवाह गर्न सूचना डेस्क स्थापना तथा सडक नाटक प्रदर्शन गरिएको छ ।
मंगलबार बिहान वीरगञ्जस्थित घण्टाघर र बसपार्कमा सूचना डेस्क स्थापना गरिएको थियो । उक्त डेस्कबाट लागुऔषध तथा अपराध विरुद्धका जनचेतनामूलक सामाग्रीहरु बाँडिएको हो । डेस्कबाट बाँडिएको सामाग्रीहरुमा लागुऔषध सेवन गरिरहेका व्यक्तिहरुमा आउने परिवर्तनहरुका बारे उल्लेख गरिएको थियो । व्यक्तिको व्यवहारमा आएका परिवर्तनहरुलाई पहिचान गर्दै समयमै परामर्शका लागि पहल गरिए, लागुऔषधको कुलतबाट उम्किन सम्भव छ भन्ने सन्देश डेस्कबाट प्रवाह गरिएको हो ।
त्यसैगरि मंगलबारै साँझ सडक नाटक पनि प्रदर्शन गरिएको छ ।

लागुऔषध पुनर्स्थापनाको १५ वर्षे अनुभवले लागुऔषधको कुलतमा फस्नेहरु अधिकांश किशोर उमेरमै संगतका कारण फस्ने गरेको देखाएको हुँदा त्यही विषयवस्तुलाई नाटक मार्फत चित्रण गरिएको थियो । लागुऔषधको कुलतमा अनाहकै फस्नेहरुलाई पुनः सामान्य जीवनमा फर्काउन आवश्यक पर्ने विधीहरु पनि नाटकमा समावेश गरिएको थियो । सानो पाइलाको पुनस्र्थापना केन्द्रका प्रतिनिधी र बालगृहका बालबालिकाहरुले संयुक्त रुपमा नाटक तयार गरि प्रदर्शन गरेका थिए ।
लागुऔषध तथा अपराध विरुद्धको ७ दिने अभियान सामुदायिक–प्रहरी साझेदारी अन्तर्गत सञ्चालित छ । अभियान अन्तर्गतको चौथो दिन भोलि, बुधबार हाल कुलतमा फसेका व्यक्तिहरुको परिवारका सदस्यसँग अन्तरक्रिया गर्ने कार्यतालिका रहेको छ ।
लागुऔषध र अपराध विरुद्धको तेस्रो दिन, आज सानो पाईलाले लागुऔषधको कुलतबाट व्यक्तिलाई सामान्य जीवनमा फर्काउनका लागि उचित परामर्श र उपचारमा जोड दिएको छ । लागुऔषधको कूलतमा जो कोही व्यक्ति फस्न सक्छ। र, कूलतमा फसेको व्यक्ति फेरि सामान्य जीवनमा फर्कन पनि सक्छ । इच्छाशक्तिका अतिरिक्त उचित परामर्श र उपचार भए कूलतबाट उम्किन विल्कुल सम्भव छ ।







