Categories Headlines मधेश प्रदेश

वीरगञ्ज महानगरको ठूलो सफलता, ५ विघा अतिक्रमित जग्गा महानगरको अधिनमा

Advertisement


वीरगञ्ज, २९ फागुन
वीरगञ्ज महानगरपालिकाले अतिक्रमित ५ विघा भन्दा बढी जग्गा नियन्त्रणमा लिएको छ ।
महानगरको वडा नम्वर १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर कब्जामा राखेको जग्गा महानगरले आफ्नो नियन्त्रणमा ल्याएको हो ।

महानगरको टोलीले नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याएर तारबारका लागि खन्ने काम समेत गरेको छ ।
सार्वजनिक जग्गा छुट्याएर तारबार गरि वृक्षारोपण गर्ने महानगरको योजना छ ।

Advertisement

सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै संभावित स्थानमा पुगेको हो ।

Advertisement

अतिक्रमित जग्गा वडा नम्वर १७ का वडासदस्य अमोद यादव सहित केही स्थानीयले भोगचलन गर्दै आएका थिए ।

यादव एक्लैले आफ्नो नाममा रहेको ७ कट्ठा जग्गाको आडैमा रहेको ४ विघा सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको वडा नम्वर १९ का वडाध्यक्ष मुकेश कुमार चौरसियाले बताउनुभयो । 

अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेर छुट्याउनुका साथै डोजर लगाएर सीमा छुट्याउने काम गरिएको उहाँले जानकारी दिनुभयो ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले नगरक्षेत्र भित्र रहेका सार्वजनिक जग्गा पहिचान गरी महानगर माताहातमा ल्याउन अभियान अगाडि बढाएसँगै वडा नम्बर १७ को ५ विघा जग्गा आफ्नो अधिनमा ल्याउन सफल भएको बताउनु भयो ।

अहिले महानगरसँग आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गा कति छ भन्ने कुनै पनि तथ्यांक नरहँदा खोजिमा कठिनाई भइरहेको भए पनि अभियान सफल पार्न टोली दिनहुँ खटिएको पनि उहाँले जानकारी दिनु भयो ।

अतिक्रमण भएको ५ विघा भन्दा बढी जग्गा एकै पटक अधिनमा ल्याएको यो पहिलो घटना हो ।

‘हामीले आज ठूलो सफलता प्राप्त गरेका छौँ,’ नगर प्रमुख सिंहले भन्नुभयो, ‘अतिक्रमणमा परेको यति धेरै जग्गा एकै पटक हामिले शान्तिपूर्ण रुपमा आफ्नो अधिनमा ल्याएको पहिलो पटक हो ।’

यो अभियान ३२ वटै वडामा संचालन हुने पनि महानगरले जनाएको छ ।
हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न महानगरले खोजी अभियान अघि बढाएको पनि नगरप्रमुख सिंहले बताउनुभयो ।

अभियान अन्तर्गत सोमबार नगरप्रमुख सिंहको सचिवालयका हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, वडा नम्बर १९ का वडा अध्यक्ष मुकेस कुमार चौरसिया, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन लेखनारायण कर्ण, प्रमोद साह, अनिल पंणित, रामेश्वर प्रसाद कुशवाहा लगायत स्थानीयको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *