Categories समाचार

वीरगञ्जको विद्युतीय समस्या समाधानका लागि मेयर सिंह र घिसिङ बिच छलफल ।

पर्सा । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ्सँग छलफल गरेका छन् । बुधवार घिसिङ्कै कार्यकक्षमा पुगेर मेयर सिंहले वीरगञ्जका विद्युतीय समस्याहरुको समाधानका लागि ध्यानाकर्षण गराएका हुन् । 

मेयर सिंहले नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख जितेन्द्र झालाई पनि सँगै राखेर विद्युत सम्बन्धी सबै किसिमका समस्याहरुको समाधान गर्न प्रमुख कार्यकारी अधिकृत घिसिङ्सँग आग्रह गरेका छन् ।

Advertisement

अनियमित रुपमा हुने विद्युत कटौतीको अन्त्य गर्नुपर्ने, सडक बत्ती व्यवस्थापनका लागि फिफ्थ वायर जडान गर्नुपर्ने, वीरगञ्ज महानगरमा भूमिगत तार व्यवस्थापन गर्नुपर्ने, पानीटंकी क्षेत्रको घरमाथिको हाईटेन्सन लाईन स्थानान्तरण गर्ने बारेमा मेयर सिंहले घिसिङ्को ध्यानाकर्षण गराएका हुन् ।

Advertisement

मेयर सिंहले उठाएका समस्याहरुको समाधानका लागि यथाशिघ्र प्रक्रियामा लैजान पनि प्रमुख कार्यकारी अधिकृत घिसिङ्ले वीरगञ्ज वितरण केन्द्रका प्रमुख झालाई निर्देशन दिएका छन् । 
वीरगञ्जका विभिन्न समस्याहरुको समाधानका लागि सम्बन्धीत व्यक्तिहरुलाई भेट्न राजधानी आएको समयमा विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसँग पनि भेटेको मेयर सिंहका स्वकिय सचिव सत्यराज घिमिरेले जानकारी दिए । 

यसअघि मंगलवार मात्रै मेयर सिंहले किसानहरुको लागि आवश्यक मलको व्यवस्थापन गरिदिन कृषि सामाग्री कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक राजेन्द्र कार्कीसँग पनि छलफल गरेका थिए । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *