Categories समाचार

बन्द आँखाले ७ छोरीको लालनपालन

वीरगन्ज  दुवै आँखा देख्न छाडेको १५ वर्ष भयो तर सात छोरीको लालनपालनको दायित्व उहाँकै काँधमा छ।

त्यो पनि उहाँले करिब करिब पार लाउनुभएको छ। उहाँमा फेरि आफ्नै आँखाले संसार देख्ने धोको छ।

Advertisement

रामेछाप जिल्लाको मन्थली नगरपालिका–९, पुराना गाउँकी ४० वर्षीया चमेली मगरका दुवै आँखा बन्द छन्।

Advertisement

यस्तैमा पतिको पनि निधन भएपछि आठमध्ये सात छोरीको लालनपालन र पठनपाठनको जिम्मा उहाँकै काँधमा आएको हो।

चमेलीका आठ छोरीमध्ये जेठीको मात्र विवाह भएको छ। जुम्ल्याहा माइली र साइँली १२ कक्षामा पढ्छन्।

काइँली ८ मा, ठाइँली ६ मा, अन्तरी ५ मा, जन्तरी ३ मा र कान्छी १ कक्षामा अध्ययनरत छिन्। यी सबैको जिम्मेवारीले उहाँलाई थिचेको छ।

चमेलीका आँखामा सानै उमेरदेखि धमिलो देख्ने र टाढाको वस्तु नदेख्ने समस्या थियो तर १५ वर्षअघि चौथो छोरी जन्मिएपछि भने चमेलीका दुवै आँखाका ज्योति पूरै गुमे।

आँखा बन्द भएपछि पनि सन्तान जन्मिने क्रम भने रोकिएन। उहाँका थप चार छोरी जन्मिए।

चमेलीका श्रीमान् अम्बरबहादुर ठाडामगरले उपचारका लागि बुँताले भ्याएसम्म गर्नुभयो।

थाहा पाएसम्मका अस्पताल घुमाउनुभयो। ठाउँठाउँमा सञ्चालन हुने आँखा शिविरमा पनि पु–याउनुभयो तर काम लागेन। उहाँको आँखाको ज्योति फर्किएन।

यस्तैमा चमेलीको जीवनमा अर्को बज्रपात आई लाग्यो। जीवनको सहारा पतिलाई पनि उहाँले गुमाउनुभयो।

श्रीमान् पनि गुमाएपछि संसार देख्ने उहाँको इच्छा हरायो। साना छोरीलाई कसरी हुर्काउने भन्ने चिन्ता थपियो।

“कलिला छोरी, श्रीमान् पनि बित्नुभयो, उनीहरूलाई कसरी हुर्काउने, के गर्ने, के नगर्ने ? केही सोच्नै सकिँन,” उहाँले भन्नुभयो।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *