काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरूद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ ।
अधिवक्ता दिपकराज जोशीले सो मुद्दा दर्ता गराएको बताइएको छ । बालेनले नक्सापासविनाका अवैध संरचना हटाउन अभियान चलाइरहेका बेला उनको एउटा स्टाटसलाई लिएर सर्वोच्चमा मुद्दा दर्ता भएको हो ।
मेयर बालेनले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका थिए– ‘संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिऊँ ।’ उनको सो अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै मुद्दा दायर गरिएको हो । सो मुद्दामा आजै न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा सुनुवाइ भएको छ।
मेयर बालेनको नेतृत्वमा महानगरपालिकाले नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन खोजेको थियो । तर नर्भिकले अदालतमा मुद्दा हालेपछि तत्काल ती संरचना नहटाउन अदालतले आदेश दियो । सो आदेशपछि बालेनले नक्सा पासको काम पनि अदालतलाई नै दिनुपर्ने भन्दै व्यंग्य गरेका थिए ।







