सर्वोच्च अदालतले निकास दिएको खण्डमा २५ मिटर सडकको मापदण्ड छ भने २५ मिटर नै तोड्नुपर्ने
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले लामो समयदेखि विवाद चल्दै आएको वीरगञ्ज महानगरको मुख्य सडक अदालतको आदेशअनुसार नै फराकिलो बनाइने बताएका छन्।
आफूले सय दिनमा गरेको कामबारे जानकारी दिन शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले महानगरको मुख्य सडक फराकिलो हुने कुरा अदालतको निर्णयअनुसार गरिने बताए।
त्रिभुवन राजमार्गअन्तर्गत पर्ने महानगरको गण्डकदेखि शंकराचार्य गेटसम्मको मुख्य सडक फराकिलो गर्ने कुरा सर्वोच्च अदालतको आदेशअनुसार नै हुने बताए।
‘जुन कुरा सर्वोच्च अदालतमा विचाराधीन छ, अदालतले जबसम्म निकास दिँदैन त्यो विषयमा म केही पनि बोल्दिनँ,’ उनले भने, ‘सर्वोच्च अदालतले निकास दिएको खण्डमा २५ मिटर सडकको मापदण्ड छ भने २५ मिटर नै तोड्नुपर्ने मेरो मान्यता छ।’
लामो समय विवाद रहँदै आएको त्रिभुवन राजमार्गअन्तर्गत महानगरको मुख्य सडकबारे सडक विभागले यसअघि पटक–पटक नाप नक्सा गरेर रेखांकन गरेको भए पनि सडकलाई हालसम्म पनि फराकिलो बनाउन सकिएको छैन।
सडक फराकिलो नभएकै कारण वीरगञ्ज महानगरपालिकामा जताततै ट्राफिक जामको समस्यालगायत मुख्य सडकमै पार्किङ गर्नुपर्ने अवस्था रहँदै आएको छ।
सडक २५ मिटर फराकिलो गर्ने कि १५ मिटर फराकिलो हुने विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले यसबारे आफू अन्य केही कुरा बोल्न नमिल्ने जिकिर गरे। संभार







