वीरगन्ज । चुनाव ताका जनता सामु गरेका वाचा पुरा गर्न वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नगरवासीको घरदैलोमै स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य उपचार सेवा दिन थालेका छन् ।
मेयर सिंहको निर्देशनमा महानगरपालिकाले वडा वडामै विशेषज्ञ चिकित्सक सहितका स्वास्थ्यकर्मीलाइ टोली पठाएर स्वास्थ्य उपचार सेवा प्रदान गर्न थालेको हो ।
मेयर स्वास्थ्य घरदैलो कार्यक्रम नाम दिइएको उक्त अभियान आइतबार देखि शुरु गरिएको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा आइतबार उक्त कार्यक्रमको उद्घाटन मेयर सिंहले गरे । पहिलो चरणमा वीरगन्ज महानगरका ग्रामीण भेगका १६ वटा वडालाइ लक्षित गरि आइतबार देखि शुरु मेयर स्वास्थ्य घरदैलो कार्यक्रममा विशेषज्ञ चिकित्सक (मेडिकल अफिसर) तीन जना सहित स्टार्फ नर्स ,हेल्थ असिस्टटेण्ट , अनमी गरि २५ जना स्वास्थ्यकर्मी खटाइएको छ ।

एउटा वडामा पाच दिन सम्म सन्चालन गरिने मेयर स्वास्थ्य घरदैलो कार्यक्रम नामक स्वास्थ्य शीवीरमा बिरामीको स्वास्थ्य जाँच गरिनुका साथै ल्याब टेष्ट ( रगत, दिशा ,पिसाब, खकार इत्यादिको जाँच ), इसिजी , भिडियो एक्सरे लगायतका सेवा पनि प्रदान गरिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख रितेश जयसवालले बताए ।
बिरामीको जाँच र ल्याब टेष्टसंगै औषधी पनि निशुल्क वितरण गरिएको उनले जनाए । जयसवालले भने ,‘ यो शीवीरमा बिरामीलाइ नेपाल सरकारले निशुल्क उपलब्ध गराएको ९८ प्रकारका औषधी बाहेक उच्च रक्त चाप, मधुुमेह र थाइराइडको औषधी पनि निशुल्क वितरण गरिरहेका छौं ।
आइतबार मेयर स्वास्थ्य घरदैलो कार्यक्रमकोे औपचारिक उद्घाटन गर्दै मेयर सिंहले यो कार्यक्रम यसअघि गाँउघरमा सन्चालन हुदै आएका एक दिने शीवीर भन्दा फरक र विशेष प्रकारको भएको बताए ।

उनले भने ,‘ एउटा वडामा यो शीवीर ५ दिन सम्म चल्छ , डाक्टरले शुरुमा बिरामीको स्वस्थ्य जाँच गरिन्छ ,आवश्यक परे ल्याब टेष्ट पनि गरिन्छ , रोग पत्ता लगाएर औषधी दिएपछि मात्रै बिरामीलाइ घर पठाइन्छ।
हरेक नगरवासीको घरदैलोमै स्वास्थ्य उपचारको सेवा पुगोस् भन्ने उदेश्यले आफुले यो कार्यक्रम सन्चालन गरेको उनले बताए ।
मेयर सिंहले भने ,‘ महानगरका ३२ मध्ये १६ वटा वडा ग्रामीण भेगमा छन् , यो भेगमा शहरको जस्तो सुविधा सम्पन्न स्वास्थ्य संस्था छैनन् , उपचारका लागि शहर नै धाउनु पर्ने बाध्यता छ , त्यसैले पहिलो चरणमा ग्रामीण भेगका जनतालाइ लक्षित गरि यो कार्यक्रम शुरु गरिएको हो ।
उनले आफनो चुनावी घोषणापत्रमा पनि नागरिकको घरदैलोमै सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख गरेको स्मरण गर्दै त्यहि वाचा पुरा गर्न पनि यो कार्यक्रम शुरु गरेको बताए ।
सिंहले भने ,‘ यो कार्यक्रम एउटा वडाका लागि मात्र नभइ महानगरका ३२ वटै वडामा सन्चालन गरिने छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले वीरगन्ज महानगरले सस्तो लोकप्रियताका लागि नभइ देशका अन्य ७५२ पालिकाले पनि अनुसरण गरुन् भनेर नागरिकको घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम शुरु गरेको बताए ।

महानगरले विशेषज्ञ चिकित्सक र ल्याब टेष्ट सहितको सेवा र औषधी समेत निशुल्क वितरण गर्ने गरि गाँउघरमै शीवीर सन्चालन गरेपछि महानगरवासी पनि खुशी छन् ।
लालपर्सामा आइतबार देखि शुरु स्वास्थ्य शीवीरमा सेवा लिन पुगेका वीरगन्ज ३० प्रशोतिपुरका ७३ बर्षिया बृद्ध लाल बहादुर यादवले गाँउघरमै डाक्टर सहितको टोली आएर उपचार गरेकोमा खुशी व्यक्त गरे ।

उनले भने ,‘घरको कोहि पनि बिरामी हुदा वीरगन्ज बजारको हस्पिटल धाउनु पथ्र्यो , आउदा जादा दिनभरको समय जान्थ्यो ,उस्तै परे बास नै बस्नु पथ्र्यो , खर्च पनि उत्तिक्कै हुन्थ्यो तर अहिले गाँउमै ठूला डाक्टरबाट इलाज गराउन पाइयो , दवाइ पनि दिए , तर खर्च एक सुको पनि भएन ।
लालबहादुरसंगै शीवीरमा उपचार गराउन आएका उनका छिमेकी राम बहादुर राउतले भने ,‘ नेताले जनताको यस्तै पिरमर्का बुझेर काम गरे भने उनिहरुलाइ हामी जस्ता बुढाखाडाको आर्शीवाद पनि लाग्छ , सारहै राम्रो काम गरेका छन् हाम्रा मेयर साबले ।
उनले समय समयमा यस्ता शीवीर गाँउघरमै सन्चालन गरिए ग्रामीण भेगका जनता बिरामी पर्दा शहर धाउनु पर्ने अहिलेको बाध्यता हट्ने र यसले जनतालाइ उपचार र खर्च दुवैमा धेरै राहत पुग्ने बताए ।







