Categories समाचार

अनुगमनमा पुगेका मेयर सिंहद्वारा मन्दिर सौन्दर्यको काम चाँडो सम्पन्न गर्न निर्देशन

Advertisement

पर्सा । गहवा माई मन्दिरको सौन्दर्य बढाउन अहिले माइस्थान चोकदेखि मन्दिरको मूलद्वारसम्मको सडक भत्काएर अत्याधुनिक बनाउने काम धमाधम भइरहेको छ ।

पहिले रहेको कालोपत्रे सडकलाई भत्काएर अब यहाँ युरोपियन स्टाण्डर्सको पेबर्स (इन्टरलक) लगाउन थालिएको हो ।

Advertisement

यही भदौ अन्तिमसम्ममा काम सम्पन्न गर्ने गरी साउन ३० गतेबाट काम सुरु भएको महानगरले जनाएको छ ।

Advertisement

मन्दिर अगाडीको सडकको काम अहिले भइरहेको र यो सडकको काम सकिनासाथ मन्दिरको दायाँ बायाँ दुवैतर्फको सडकमा पनि पेभर्स लगाउने काम सुरु हुने वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले जानकारी दिए ।

कामको निगरानी गरिरहेका मेयर सिंहले आज साँझ आफै अनुगमनमा पुगेर काम यथाशक्य चाँडो सम्पन्न गर्न निर्माणमा संलग्नहरुलाई निर्देशन दिएका छन् ।

एक महिनाभित्र मन्दिर अगाडी र दायाँबायाँ दुवै तर्फको सडकको काम सकिने गरी आफूहरुले काम गरिरहेको निर्माण कम्पनीले जनाएको छ ।

यसले मन्दिरको सौन्दर्य बढाउनुका साथै धार्मिक पर्यटकीय क्षेत्रलाई बढावा दिने विश्वास मेयर सिंहले लिएका छन् ।

महानगरको करिब ८५ लाखको लागत यहाँ काम भइरहेको हो । यहाँ सडकका साथै नाला तथा फुटपाथमा पनि पेभर्सकै प्रयोग गरेर स्तरीय बनाउन लागिएको हो ।

यहाँ लगाइन लागिएको पेभर्स र त्यसको डिजाइन पनि मन्दिरकै रंगसँग मिल्ने गरी तयार पारिएको छ । यो पेभर्स अन्य पेभर्सको तुलनामा ४ गुणा बलियो र स्तरीय रहेको भन्दै यसले २५ टनको भार सहजै थेग्ने निर्माणमा संलग्न प्राविधिकहरु बताउँछन् ।

मन्दिर क्षेत्रमा पैदल यात्रा मात्रै

पेभर्स हालेर आकर्षक बनाउन लागिएको यो सडकमा सवारी साधन पूर्ण निषेध गर्ने बारेमा पनि महानगरले छलफल अगाडी बढाएको छ ।

यहाँ घुम्न आउने पर्यटक तथा स्थानीयले पैदलै यात्रा गरेर यस क्षेत्रको सुन्दरता अवलोकन गर्न सकुन भनेर सवारी निषेधका बारेमा छलफल भइरहेको महानगरका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले बताए ।

अहिले छलफलकै चरणमा रहेकाले निर्माण सम्पन्न भइसकेपछि त्यहाँको स्थिति के हुन्छ त्यसपछि निर्णय हुने उनले बताए ।

यहाँका पसल तथा फुटपाथमा राखिएका तरकारी बजारलाई पनि व्यवस्थित गर्ने गरी आवश्यक गृहकार्य अगाडी बढाइएको उनी बताउँछन् ।

मन्दिर क्षेत्रको काम सम्पन्न भएपछि घण्टाघर क्षेत्रमा पनि काम सुरु हुने महानगरले जनाएको छ । घण्टाघरको चारैतर्फको फुटपाथ र भित्र रहेको टायल्स हटाएर युरोपियन स्टाण्डर्डको पेभर्स हाल्ने तयारी गरिएको छ ।

वीरगञ्जमा रहेका धार्मीक तथा ऐतिहासिक क्षेत्रलाई जगेर्ना गर्दै त्यसलाई स्तरिकरण गरेर हेर्न लायक बनाउनु आफ्नो उद्धेश्य रहेकाले त्यही अनुसार काम अघि बढाइएको मेयर सिंह बताउँछन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *