Categories समाचार स्वास्थ्य

गाडी देख्नासाथ वाकवाकी लाग्न थाल्छ…

Advertisement

काठमाडौं । सर्लाही घर भएकी सञ्जुु कार्कीलाई लामो दूरीको बस सम्झिने बित्तिकै टाउको दुखेको जस्तो हुन्छ । तीन वर्षदेखि अहिले काठमाडौं बस्दै आएकी उनलाई घर जान मन भए पनि लामो दूरीमा बस यात्रा गर्ने बित्तिकै बान्ता आउने समस्या छ । बस सम्झिएर नै दिक्क लाग्ने उनी सुनाउँछिन् ।

‘लामो यात्रा बाटो घुमाउरो, बसको गन्ध सम्झिन पनि चाहन्नन्, बस चढेदेखि नै टाउको दुख्ने, मुखमा अमिलो पानी आउने, रिंगटा लाग्ने, केही खान मन नलाग्ने, कोही बोलेको सुन्न पनि मन नलाग्ने हुन्छ । आफू मरेरै घर पुगेको जस्तो लाग्छ,’ उनी भन्छिन् ।

Advertisement

वर्षमा एकपटक जाने भए पनि बस र बाटो सम्झेरै गाह्रो हुने उनी सुनाउँछिन् । औषधि खाएर समेत बान्ताको समस्याबाट आफूलाई छुटकारा नमिल्ने कार्की बताउँछिन् ।

Advertisement

धादिङकी सीता लोहनीलाई पनि त्यही समस्या छ । दशैं नजिकिएसँगै मनमा उल्लास छाएको छ, तर बस चढ्नुपर्ने सम्झिंदा भने उनलाई एकप्रकारको अत्यास नै लाग्छ । ‘दशैं आउँदैछ, माइत जाँदा भेटघाट र रमाइलो हुन्छ,’ उनी भन्छिन्, ‘बस चढ्यो कि ओर्लिने बेलासम्मै बान्ता आएर हैरान हुन्छु । कान टालिने, केही खायो भने जस्ताको तस्तै मुखबाट आउने, बेहोस हुनेसम्मको समस्या हुन्छ ।’ औषधि खाएर गाडी चढ्दा पनि उनलाई छोएन ।

यात्रा गर्दा चक्कर लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने जस्ता लक्षणलाई मेडिकल भाषामा मोसनसिक्नेस भनिने जनरल फिजिसियन तथा ग्यास्ट्रोलोजिस्ट डा. अवशेष भण्डारी बताउँछन् ।

‘यकिन गरेर त कस्ता व्यक्तिलाई  मोसनसिक्नेस हुन्छ भनेर ठ्याक्कै भन्न सकिंदैन,’ उनी भन्छन्, ‘शरीरको सन्तुलन बिग्रिंदा यात्रा गर्दा यस्तो हुने हो ।’ घुमाउरो बाटोमा गाडीमा यात्रा गर्दा सिरेबेलमको सन्तुलन बिग्रिएर मोसनसिक्नेसको समस्या देखिने उनी बताउँछन् ।

गाडीको गन्ध आउने, गाडी चढ्ने बित्तिकै बान्ता आउँछ भने त्यस्ता व्यक्तिमा मानसिक समस्या पनि हुनसक्ने डा. भण्डारी बताउँछन् । ‘कोही व्यक्तिलाई पहिला गाडी चढ्दा बान्ता भएको छ भने पछि उसको माइन्डले प्रि–अकुपाइड गर्छ र हरेक पटक गाडी चढ्दा यस्तो समस्या आउँछ,’ उनी भन्छन्, ‘लामो दूरीको यात्रा नगरेका व्यक्तिलाई बान्ता आउन सक्छ है भनेर कसैले भनेपछि त्यो व्यक्तिको दिमागले त्यही सोचेर पनि मोसनसिक्नेस हुनसक्छ ।’

यस्तो अवस्थामा आफ्नो मनलाई अन्यत्र केन्द्रित गर्न र अरुमै कुरामा भुल्न उनी सुझाव दिन्छन् ।

मोसनसिक्नेस कसरी कम गर्ने ?

डा. भण्डारीका अनुसार मोसनसिक्नेस हुनेको लागि एन्टीहिस्टामेनिक र प्रोमेथाजरिन औषधि दिनुपर्छ । जुन यात्रा गर्नुभन्दा आधा घण्टा अघि खानुपर्ने हुन्छ । यो औषधिले बान्ता नै रोक्नेभन्दा पनि सिरेबेलमफंक्सनल डिसअर्डर रोक्न मद्दत गर्छ ।

त्यसबाहेक थोरै थोरै खानेकुरा खाइराख्ने, अन्य कुरामा मन लगाउने, सँगै बस्ने व्यक्तिसँग गफ गर्ने कार्य गर्दा दिमागले बस चढेर गाह्रो हुने कल्पना गर्न पाउँदैन । गाडीमा धेरैले बान्ता हुन्छ भनेर भोकै यात्रा गरिरहेको पनि पाइन्छ, तर यसले ग्यास्ट्रिक बढाउने हुँदा पटकपटक खानेकुरा खाइरहनुपर्ने डा. भण्डारी बताउँछन् ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. रामआधार यादवका अनुसार आँखा, कानको सन्देश दिमागले राम्रोसँग ग्रहण नगर्दा सन्तुलन बिग्रिएर मोसनसिक्नेस देखिन सक्छ । यस्तो समस्या बस चढ्ने, कार चढ्ने र हवाईजहाज चढ्ने व्यक्तिलाई हुन्छ । त्यसमा पनि १२ वर्षमुनिका बालबालिका, गर्भावस्था, माइग्रेन समस्या भएका, हर्मोनलप्लिस सेवन गर्ने र महिनावारीको समयमा यात्रा गर्ने महिलालाई बढी हुनसक्ने उनी बताउँछन् ।

आयुर्वेदिक औषधिले पनि मोसनसिक्नेस कम गराउने डा. यादवको दाबी छ । ‘ह्रब्स ब्रिथको बास्ना सुँघ्दै यात्रा गर्न सकिन्छ । यात्रा गर्दा जहिले अगाडि हेर्न लगाउने, टाढाको दृश्य हेर्ने, झ्यालहरु खोलेर ताजा हावा आउन नदिने, मसलेदार खानेकुरा यात्रा गर्दा सकेसम्म नखाने, गीत सुन्ने गर्दा दिमाग अन्तै भुलिन्छ,’ उनी भन्छन्, ‘गाडीबाट निस्किसकेपछि पनि फ्रेस भएर हल्का खानेकुरा खाएर आराम गर्दा विस्तारै हराउदै जान्छ ।’ अनलाइन खबरबाट संभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *