श्याम सरार्फ
वीरगन्ज । “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ मा वीरगन्ज महानगरपालिका वडा नम्बर १८ का १ हजार ६ सय ४७ जनाले स्वास्थ्य परिक्षण गराई सेवा लिएका छन् ।
भवानीपुर इनर्वा, सुखचैना र सौराहा गाउँ रहेको वडा नम्बर १८ मा साेमबार सम्पन्न कार्यक्रममा ९ सय ४७ महिला सहित १ हजार ६ सय ४७ जनाले स्वास्थ्य परिक्षण गराएका हुन ।
महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उदेश्यले सञ्चालन गरेको कार्यक्रमको चौथो क्याम्प असाेज २४ गतेदेखि ३१ गतेसम्म वडा नम्बर १८ मा संचालन गरेका थिए । साे स्वास्थ्य कार्यक्रममा २७ जनाले युएसजी र ३ सय १ जनाले रक्त परिक्षण गराएका हुन । बिरामीको अवस्था हेरेर मोबाइल ल्याब बाट तत्कालै रगत परिक्षण गराइ स्वास्थ्य समस्या अनुसार नि:शुल्क औषधी समेत वितरण भएकाे अभियानमा सहभागी डाक्टर सागर गुप्ताले राताेपानलाई बताए।

स्थानीय तहको निर्वाचनका बेला मेयर राजशेमान सिंहले गरेको चुनावी प्रतिबद्धता अनुसार , “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ शुरु गरी निरन्तर जारी राखेको मेयर सिँहले बताएका छन् ।
घरदैलोमै सबै खालका चेकजाँच हुने गरी स्वास्थ्य सेवा पुगेपछि सदरमुकाम धाइरहने अवस्था हटेकोले स्वास्थ्य चेकजाँच गराउन आउने सेवाग्राहीको भीडभाड लाग्ने गरेको मेयर घरदैलो स्वास्थ्य कार्यक्रमका संयाेजक अमित अग्रवालले बताए ।
खासगरी वृद्धवृद्धा , गर्भवती महिला तथा अन्य स्वास्थ्य समस्या भएका महिलाहरुका लागि सहज वातावरण रहेकोले महिलाहरू निर्धक्क रुपले उल्लेखनीय सहभागीता सहित कार्यक्रम स्थलमा चेकजाँच गराउन आउने गरेको डाक्टर जिन्नतुन नेशाले बताईन् ।

चेकजाँचका लागि आउने स्थानीयवासीहरुले ग्रामीण भेगबाट वीरगंज आउ जाउ गर्न आर्थिक खर्च लगायत अन्य व्यवस्थापनमा समस्या भईरहेको बेला घरआगन मै व्यवस्थित सम्पुर्ण सुविधा सहितको स्वास्थ्य जाँच सुविधा आउँदा खुशी लागेको बताउदै मेयरले चुनावमा गरेको वाचा पुरा गरेको भन्दै प्रशंसा गरिरहेका छन् ।
“मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ मा नगरवासीलाई निशुल्क चिकित्सकीय परामर्श सेवा, निशुल्क ल्याब सेवा तथा निशुल्क औषधी पनि वितरण भईरहेको डाक्टर उमेश सरार्फले बताए ।
“मेयर घरदैलो स्वास्थ्य कार्यक्रम” अभियानमा स्वास्थ्यकर्मी समुहमा डाक्टर सागर गुप्ता, डाक्टर उमेश सरार्फ, डाक्टर जिन्नातुन नेसा, डाक्टर अनुभा राय, स्टाफ नर्स शोभा राय, हेल्थ असिस्टेन्ट मेघनाथ सहनी, ल्याब टेक्नेसियन जितेन्द्र प्रसाद पटेल, अरबिन्द कुश्वाहा, अहेव जितेन्द्र साह, दिलिप गुप्ता र अनमी रेखा कुमारी लगायत कार्यालय सहयोगीहरु रहेका छन् भने व्यवस्थापन समूह तर्फ वीरगन्ज महानगरपालिकाका स्वास्थ्य प्रमुख रितेश जैसवाल, सुमन चन्द्र ठाकुर, सुनिल कुर्मी तथा मेयर घरदैलो स्वास्थ्य कार्यक्रमका व्यवस्थापक अमित अग्रवाल रहेका छन् ।



