वीरगञ्ज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पर्सा जिल्लाका २ जनाले स्वर्ण पदक हात पारेका छन् । मधेश प्रदेशका लागि कुस्तितर्फ पर्साका २ जनाले स्वर्ण पदक जितेका हुन् ।
पर्साको पोखरिया नगरपालिका वडा नम्बर १० का राज यादवले १ सय २५ किलोग्राम तौल समूहमा स्वर्ण पदक जितेका हुन् । यादव सार्क कास्य पदक विजेतासमेत हुन् ।
त्यसैगरी पर्साकै जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ निवासी लालबाबु यादवले पनि स्वर्ण पदक हात पारेका छन् । उनले ८६ किलोग्राम तौल समूहबाट स्वर्ण पदक जितेका हुन् ।
बारा जिल्लाका १ जनाले पनि स्वर्ण पदक जितेका छन् । बाराका अमरेश यादवले ६१ किलोग्राम तौल समूहबाट स्वर्ण पदक जित्न सफल भएका हुन् । योसँगै मधेश प्रदेशले पर्सा र बाराबाट मात्रै ३ स्वर्ण पदक हात पारेको छ ।








