Categories समाचार

महोत्तरीमा निर्वाचनकाे तयारी पूरा

Advertisement

वीरगन्ज । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि कर्मचारी व्यवस्थापनको काम जिल्लामा सकिएको छ । जिल्लाका सबै मतदानस्थल र मतदान केन्द्रका लागि चार हजार पाँच जना जनशक्ति परिचालन गरिएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जनाएको हो ।

“जिल्लाका दुई सय ५८ मतदानस्थलका चार सय ९९ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्रसहित पाँच सय एकवटै केन्द्रका लागि मतदान अधिकृतसहितका आवश्यक जनशक्ति व्यवस्थापन गरिएको छ”, मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले भने, “अब धमाधम खटिएका कर्मचारीलाई अभिमुखीकरण तालिम दिएर नियुक्ति दिँदै सम्बन्धित केन्द्रमा पठाइँदै गरिएको छ ।” जिल्लाका चार प्रतिनिधिसभा क्षेत्रमध्ये तीनवटाको तालिम सम्पन्न भएको र एक क्षेत्रको आज आइतबार सकिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Advertisement

जिल्लाभरिमा तोकिएका मतदान केन्द्र र दुई अस्थायी केन्द्र (सैनिक ब्यारेक र कारागार)मा मतदान कार्यका लागि दक्ष जनशक्ति व्यवस्थापन भएको छ । मतदान केन्द्रको मतदाता सङ्ख्या र संवेदनशीलतालाई मध्यनजर गरिँदै तीनदेखि आठ जनासम्मको जनशक्ति खटाइएको मुख्य निर्वाचन अधिकृत सेनको भनाइ छ । क्षेत्रगतरूपमा प्रतिनिधिसभा क्षेत्र–१ मा नौ सय ८३, २ मा एक हजार १९, ३ मा एक हजार २७ र ४ मा नौ सय ७६ कर्मचारी खटाइएको कार्यालयले स्पष्ट पारेको छ । यसका अतिरिक्त सुरक्षा प्रबन्धका लागि जनशक्ति परिचालित गरिएको छ ।

Advertisement

कर्मचारी खटनपटनसँगै सबै मतदान केन्द्रमा मतदान सामग्री (मतपत्र र अन्य बन्दोबस्तीका समान) पुगेका जनाइएको छ । सबै मतदान केन्द्रका लागि आवश्यक जनशक्ति र सामग्री बन्दोबस्तको काम सकिएपछि अब मतदान पूर्वतयारीको काम (मतपत्र प्याकिङ, सर्टिङ, रुजु र शिलबन्दी) भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत महेन्द्र झाले जानकारी दिए ।

चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा आसन्न मङ्सिर ४ को   निर्वाचनका लागि तीन लाख ९७ हजार ३० मतदाता छन् । तीमध्ये सबैभन्दा बढी क्षेत्र नं ३ मा ९९ हजार नौ सय ३० छन् । यसैगरी क्रमशः क्षेत्र नं २ मा ९९ हजार सात सय सात, क्षेत्र नं ४ मा ९८ हजार आठ सय ९६ र क्षेत्र नं १ मा ९८ हजार चार सय १७ मतदाता कायम रहेका जिल्ला निर्वाचन कार्यालयले यसअघि नै सार्वजनिक गरिसकेको छ । रासस

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *