वीरगन्ज । लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन अर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सुरू भएकाे छ । मुलुकका ७७ वटै जिल्लामा एकै चरणमा आज मतदान हुँदै छ । अधिकांश मतदान केन्द्रमा बिहान ७ देखि नै मतदान सुरू भइसकेकाे छ भने कति ठाउँमा कागजपत्र मिलाउदा मिलाउदै केही बेर पछि शुरु भएको हो ।
बेलुका ५ बजेसम्म चल्ने मतदानका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता याेग्य छन् । तर ती सबैले मतदान नै गर्छन् भन्ने छैन, ताेकिएकाे समयभित्र सबैले मतदान गर्न नसक्ने, नभ्याउने, नचाहने या अन्य विविध कारणले मतदान याेग्य रहेका सबैले मतदान गर्दैनन्, यसर्थ निश्चित प्रतिशत मात्र मत खस्ने देखिन्छ ।
निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ ।
निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि दुई हजार चार सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।
प्रदेशसभातर्फ पहिलो हुने निर्वाचिन हुने निर्वाचन प्रणालीका लागि तीन हजार दुई सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुुहुन्छ भने प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार सात सय आठ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ ।
यसरी आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल पाँच हजार छ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच हजार नौ सय सात उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।
निर्वाचनसम्बन्धी काम कारबाहीको पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न अनुमतिप्राप्त ४४ वटा राष्ट्रिय संस्थाबाट सात हजार दुई सय सात र दुई वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी सात हजार दुई सय १९ जनाले पर्यवेक्षण गर्दैछन् ।
पर्यवेक्षकले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित प्रणालीको एक सय ६५ निर्वाचन क्षेत्र र प्रदेशसभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको तीन सय ३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्नुहुनेछ ।
मतदान सकिएलगत्तै मतपेटिका सम्बन्धित क्षेत्रमा सङ्कलन गरेर तत्काल मतगणना सुरु गर्ने आयोगको तयारी छ । पहिलो चरणमा प्रतिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतगणना हुनेछ । सोलगत्तै प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना प्रारम्भ हुनेछ ।
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना सकिएपछि प्रतिनिधिसभाको समानुपातिक र त्यसपछि प्रदेशसभाको १ र २ को समानुपातिकको मत गणना हुनेछ । प्रत्यक्षतर्फको मतगणना तीन दिनभित्र सम्पन्न गर्ने रणनीति बनाएको छ ।







