काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताएका छन् । आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उनले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी पाएको बताएका हुन् ।
उनले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रुपमा मतदान भइरहेको पाएको बताए । उनले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुचारु गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुचारु भइसेको बताए । गृहसचिव सिंहले निर्वाचन सामग्री, निर्वाचन कर्मचारी, मतदाताहरु र उम्मेदवारलाई कुनैपनि किसिमको भौतिक क्षति अहिलेसम्म नपुगेको बताए ।
उनले मतपेटीका ढुवानीका लागि आवश्यक्ता अनुसारका सवारीसाधन तैनाथ राखिएको पनि बताए । उनले भने, ‘शान्तिपूर्ण र व्यवस्थित रुपमा मतदान भइरहेको हामीले पाइरहेका छौँ । मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुचारु गराउन हामीले व्यवस्था गरिरहेका छौँ । निर्वाचन सामग्री, निर्वाचन कर्मचारी र मतदाताहरु र उम्मेदवारलाई कुनैपनि किसिमको भौतिक हामी पुगेको छैन ।’
उनले थपे, ‘हामीले सुरक्षा व्यवस्था कडा बनाएका छौँ । ४६ प्रतिशतसम्म मतदान भएको भन्ने जानकारी आएको छ । मतपेटीका ढुवानीका लागि आवश्यक्ता अनुसारका सवारीसाधन तैनाथ राखिएको छ ।’
सचिव सिंहसहितको प्रमुख सुरक्षा अधिकारीहरुको टोलीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रहरुको स्थलगत अवलोकन गरेका छन् । निरीक्षणका क्रममा मतदान स्थलमा मतदाताहरुले उत्साहित तवरबाट मतदान गरिरहेको पाएको बताए ।





