वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२, बेल्वास्थित थारु सेवा सदन केन्द्रमा करिब साढे दुई घण्टासम्म रोकिएको मतदान पुनः सुरु गरिएको छ । त्यहाँ मतपत्र फरक परेपछि मतदान रोकिएको थियो ।
प्रतिनिधिसभा सदस्यका लागि प्रदेशसभातर्फको मतपत्र दिएको पाइएपछि आज दिउँसो करिब १ बजेदेखि स्थगित भएको मतदान पौने ४ बजेदेखि सुरु गरिएको पर्सा क्षेत्र नम्बर–३ का निर्वाचन अधिकृत योगनाथ ढकालले जानकारी दिए ।
७५७ मतदाता रहेको यो केन्द्रमा ५४ जनाले मतदान गरिसकेपछि गलत मतपत्र परेको थाहा भएको थियो ।
सुरुमा खसेको ५४ मत बदर गरेर पुनः मतदान गर्ने सहमतिपछि मतदान थालिएको निर्वाचन अधिकृत ढकालले बताए ।





