Categories समाचार

महन्थ ठाकुर र राजेन्द्र महतो बीचको दुरी बढ्दै

Advertisement

जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा पुनः एकपटक आन्तरिक विवाद सुरु भएको छ । राष्ट्रिय जनता पार्टीदेखि नै महन्थ ठाकुर र राजेन्द्र महतोबीच सौहाद्र सम्बन्ध थिएन । पार्टीमा को शक्तिशाली भनि देखाउनका लागि दुवैजनाबीच द्वन्द्व छ ।

अहिले पछिल्लो समय चुनाव सकेपछि लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बीचको दुरी झन बढेको छ । चुनावपछि पार्टीको समीक्षात्मक बैठक पनि बस्न सकेको छैन । सर्लाही २ बाट चुनाव हारेपछि उनी केही दिनका लागि काठमाडौँ आएका थिए । केही समय काठमाडौंमा बसेर जनकपुर हुँदै सर्लाही पुगेका छन् । सर्लाहीमा उनी मतदातालाई धन्यवाद दिन गाउँ गाउँ पुगिरहेका छन् ।

Advertisement

क्षेत्रीय समीक्षा बैठक पनि सम्पन्न गरेका छन् । उनी सर्लाही २ मा क्षेत्रीय कार्यालय पनि उद्‍घाटन गरेका छन् । तर काठमाडौँ आउन नाम लिइरहेका छैनन् । यता, राजेन्द्र महतो फर्केपछि चुनावी समीक्षाका लागि राजनीतिक समितिको बैठक बस्ने तयारी अध्यक्ष ठाकुरको छ तर महतो त्यहाँबाट फर्किने नाम लिइरहेका छैन ।

Advertisement

चुनावका लागि टिकट वितरणदेखि लिएर समानुपातिक सदस्यमा नाम राख्ने विषयलाई लिएर नेता महतोले चित्त दुखाएका थिए । अध्यक्ष ठाकुरले पार्टीमा एकलौटी गरेको, आफ्ना निकटलाई टिकट दिनुको साथै समानुपातिक सदस्यको बन्द सूचीमा आफन्त र आफ्ना निकटलाई मात्र राखेको, संगठनका कामहरु अगाडि नबढाएको, पार्टीलाई अनिर्णयको बन्दी बनाएका जस्ता आरोप लगाउँदै नेता महता असन्तुष्ट भएर बसेका छन् ।

अध्यक्ष ठाकुरले पार्टीलाई गतिशिलता दिन नसकेको गुनासो आफ्ना निकट नेताहरुलाई गरिरहेका छन् । हालसम्म पार्टीको केन्द्रीय समिति गठन भएको छैन । कार्यकारिणी समितिको भरमा पार्टी सञ्चालन भइरहेको छ । त्यो पनि नियमित बैठक बस्दैन भनि नेता महतोको गुनासो आफ्ना निकटका नेताहरु समक्ष गरेका छन् ।

नेता महतो अबको राजनीति परम्परा ढंगबाट होइन, नयाँ ढंगले नबढाए मधेशले कहिले पनि अधिकार नपाउने भन्दै आएका छन् । लोसपा राम्रोसँग सञ्चालन नभए त्यसको विकल्प खोज्न पनि नेता महतो तयार छन् । सरकार गठनसम्म उनी पर्खिने छन् । सरकार गठनपछि लोसपा कसरी अगाडि बढ्छ त्यसको आधारमा उनले निर्णय लिएर आफ्नो राजनीति यात्रा तय गर्ने स्रोतले जनाएको छ ।

उनी जनकपुर र सर्लाहीमा आफ्ना नेता तथा कार्यकर्तासँग लोसपाको विकल्प बारेमा पनि छलफल गरेका छन् । अब पनि महन्थ ठाकुरले पार्टीलाई ठीक ढंगले चलाउन सकेन भने त्यसको विकल्प खोज्ने विषयमा आफ्ना निकट नेताहरुसँग छलफल चलाएका स्रोतले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *