वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले दैनिक ज्यालादारीमा काम गर्दै आएका ४ सयभन्दा बढी कर्मचारीको समयावधी नथपेपछि ती कर्मचारीहरु हटेका छन् ।
महानगरले बिहीबार एक सूचना जारी गर्दै महानगरपालिकाको कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य चौकी÷केन्द्रहरुमा दैनिक ज्यालादारीमा कार्यरत सबैको समयावधी नथपेको जनाएको छ ।
लक्षित काम सकिएसँगै दैनिक ज्यालादारीमा कार्यरतहरुको समयावधी नथपिएको महानगरका प्रशासन प्रमुख रामकुमार कुशवाहाले बताए ।
महानगरपालिकाले यो समयमा ‘मेयर घरदैलो स्वास्थ्य शिविर’, वडालाई डिजिटल बनाउने अभियान, बृक्षारोपण लगायत विभिन्न अभियान संचालन गरेको थियो । ती अभियानलाई लक्षित गर्दै महानगरले दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गरेको थियो ।
‘मेयर घरदैलो स्वास्थ्य शिविर’ जारी रहे पनि अहिले अन्य अभियानको काम सकिएसँगै दैनिक ज्यालादारीका कर्मचारीहरुको पनि समययावधी थप नगरीएको प्रशासन प्रमुख कुशवाहले बताए ।
विभिन्न समयमा नियुक्त भएका दैनिक ज्यालादारीका कर्मचारी महानगरपालिकाको मंसिर २६ गतेको निर्णय अनुसार पुष १ गतेदेखि लागु हुने गरी हटेका हुन् ।
प्रशासन प्रमुख कुशवाहाले महानगरलाई आवश्यकता परेको समयमा ज्यालादारीमा काम लिने र आवश्यक नपरेको समयमा हटाउनु सामान्य प्रक्रिया भएको बताए ।
महानगरका मेयर राजेशमान सिंहले महानगरले समय समयमा अभियान संचालन गर्ने गरेको र त्यसका लागि थप जनशक्ति चाहिने हुँदा नियुक्त भएका दैनिक ज्यालादारीका कर्मचारी अभियान सकिएसँगै हटेको बताए । आउने दिनमा महानगरलाई चाहिएका बखत दैनिक ज्यालादारीमा फेरि कर्मचारी राख्न सकिने पनि उनले बताए ।
‘निश्चित काम र अभियानका लागि भर्ना गरेका थियौँ, ती अभियान अहिले सकिएको छ,’ मेयर सिंहले भने, ‘आउँदा दिनमा फेरि अन्य अभियान र कार्यक्रम संचालन गर्दा दैनिक ज्यालादारीमा कर्मचारी राख्छौँ ।’
निर्धारित काम सकिएपछि महानगरको व्ययभार कम गर्न ती कर्मचारीको समयावधी नथपिएको पनि महानगरले जनाएको छ ।







