श्याम सरार्फ
वीरगञ्ज । नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जबाट खटिएको टोलीले विल विजकमा उल्लेख गरिएकोभन्दा बढी मालसामान बोकेको आशंकामा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगपालिका वडा नं. १० आदर्शनगरबाट ना. २ ख ८६४८ नम्वरको मालबाहक ट्रक हिजो नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल वीरगञ्जले जनाएको छ ।
विल विजकमा उल्लेख भएभन्दा ५० लाख १० हजार ५ सयभन्दा बढीका विभिन्न प्रकारका सामानहरु नियन्त्रणमा लिइ राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको बताइएको छ ।
अबैध लागु औषधसहित एकजना पक्राउ
त्यसैगरी नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेको अवस्थामा मकवानपुर जिल्ला हेटौडा उप–महानगरपालिका वडा नं. ६ वस्ने अन्दाजी वर्ष १८ को अनिल परियारलाई पक्राउ गरेको छ । प्रहरीले शंका लागि चेकजाँच गर्दा अबैध लागु औषध फेला पारी हिजो नै पक्राउ गरिएको बिओपी प्रमुख रविन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।
परियारले २० वोतल कोडिवेल र विभिन्न प्रकारका ट्यावलेटहरु लुकाइ छिपाई नेपाल भित्र्याउन लागेको अवस्थामा पक्राउ गरिएको हो । अहिले निजलाई लागूऔषध सहित थप कारवाही प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।







