वीरगन्ज । प्रहरीले वीरगन्जको बसपार्क तथा ४० फिटे सडक क्षेत्रबाट २९ जनालाई पक्राउ गरेको छ । ती क्षेत्रमा सञ्चालित होटलहरुबाट २४ जना महिला र ५ जना पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बसपार्क तथा ४० फिटे सडक क्षेत्रमा सञ्चालित होटलहरुमा अवैध रुपमा यौनजन्य क्रियाकलाप हुने गरेको गुनासोको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय अन्र्तगत रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
अपरान्ह ३ बजेदेखि साँझ ५ बजेसम्ममा बसपार्क र ४० फिटे सडक क्षेत्रबाट अनुसन्धानका लागि २९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
बसपार्क र त्यसको वरपर यौनजन्य गतिविधि हुन्छन् भन्ने गुनासो आएको थियो, त्यसैको आधारमा अनुसन्धानका लागि २४ जना महिला र ५ जना पुरुषलाई पक्राउ गरेर ल्याएका छौं ।’ उनले भने ‘ सोधपुछ गर्ने कार्य भइरहेको छ । उनीहरुको संलग्नताको आधारमा कानुनी कारबाही प्रक्रिया अघि बढाउने वा छोड्ने भनेर निर्णय गर्छौ ।’
वीरगन्जको बसपार्क नजिकै ‘प्रेम गल्ली’ नामले नै एउटा गल्ली परिचित छ । जहाँ सुन्दर युवतीलाई प्रयोग गरेर मादक पदार्थ सेवन गर्न आउनेहरुसँग बढी पैसा असुल्ने गरिन्छ भने ४० फिटको सडक आसपास क्षेत्रमा रकम लिएर यौन गतिविधि चलाउने गरिएको जनगुनासो छ । त्यो क्षेत्रमा तेस्रोलिंगीहरु पनि अबेर रातिसम्म ग्राहक कुरेर बस्ने गरेको स्थानीय बताउँछन् ।

साभार:अनलाइनखबर






