Categories समाचार

भरतपुर महानगरले सहिद तथा बेपत्ता भएकाको परिवारलाई आर्थिक सहायता गर्ने

Advertisement

चितवन । भरतपुर महानगरपालिकाले सहिद तथा बेपत्ता भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कामलाई निरन्तरता दिएको छ । गत आर्थिक वर्षबाट कार्यविधि बनाएर सहायता वितरण थालिएको हो ।

महानगरले एक सूचना जारी गरी तत्कालीन जनयुद्ध र जनआन्दोलनमा सहिद भएका वा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने जनाएको छ ।

Advertisement

आर्थिक सहायता प्राप्त गर्नका लागि लक्षित समुदायले महानगरपालिकामा निवेदन दिन सूचनामार्फत आग्रह गरिएको छ ।

Advertisement

सहिद तथा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता गर्न महानगरले कार्यविधि नै बनाएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो ।

स्थानीय तहमा पहिलोपटक महानगरले यो कार्यक्रम ल्याएको हो । यसबाट केही हदसम्म भए पनि प्रभावित परिवार लाभान्वित हुने उहाँको भनाइ छ ।

आर्थिक सहायताका लागि आधिकारिक निकायबाट जनयुद्ध तथा सबै प्रकारका जनआन्दोलनमा सहिद वा बेपत्ता पारिएका परिवार खुल्ने कागजात, भरतपुर महानगरभित्र स्थायी बसोबास गरेको प्रमाणलगायतका कागजात चाहिने महानगरले जनाएको छ ।

महानगरले गत वर्ष पनि जनयुद्ध तथा सबै प्रकारका जनआन्दोलनमा सहिद वा बेपत्ता पारिएका परिवारलाई सम्मान गर्दै नगद भत्ता वितरण गरेको थियो ।

महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता पौडेलका अनुसार गत आवबाट सहयोग दिन थालिएको हो ।

ती परिवारलाई मासिक रु दुई हजारका दरले सहयोग दिने गरी कार्यविधि बनेको छ । गत वर्ष १३ बेपत्ता परिवार र ४७ सहिद परिवारले सहयोग लिएका थिए ।

यसरी सहयोग लिनेमा सशस्त्र द्वन्द्वमा परेका माओवादी, नेपाल प्रहरी, नेपाली सेनाका परिवार रहेको उहाँले जानकारी दिनुभयो ।

– रासस

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *