Categories समाचार

बालबालिकाहरुमा मोबाइल लत : भुल्ने र खेल्ने साधन नै ‘मोबाइल’

Advertisement

कैलाली । कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई तनाव हुन थालेको छ । छोराले मोबाइलमा विभिन्न एपहरू चलाउने, विभिन्न खेलमा रमाउने गर्न थाल्दा बच्चाको पढाइ बिग्रिएको छ ।

उहाँले भन्नुभयो “छोराले मोबाइल बढी चलाउने र किताब कम पढ्ने गर्न थालेको छ । कोरोना महामारीका बेला अनलाइनमा पढ्थ्यो, पछि लत लागेछ । आजभोलि बच्चालाई मोबाइलमा खेल्ने बानी बसेको छ । उसले किताब छुनै मान्दैन, घर बाहिर साथीहरूसँग पनि खेल्दैन ।”

Advertisement

बालबालिकाको मोबाइलप्रतिको लत देखेर अभिभावक चितिन्त बन्न थालेका छन् । करनजस्तै हरि चौधरीलाई पनि यस्तै तनाव छ । हरिका १३ वर्षीय छोरा पनि मोबाइलमा बढी भुल्न थालेका छन् । “मेरो बच्चाको भुल्ने र खेल्ने साधन नै मोबाइल बनेको छ । पहिला फुर्सद हुनेबित्तिकै साथीसँग खेल्न जान्थ्यो”, उहाँले भन्नुभयो, “आजभोलि स्कुलबाट आउनेबित्तिकै मोबाइल खोज्छ । घरभित्र एक्लै मोबाइलमा व्यस्त हुन्छ ।”

Advertisement

पछिल्लो समय बालबालिका मोबाइलप्रति बढी नै आकर्षित हुन थालेपछि अभिभावक चिन्तित हुन थालेका छन् । बालबालिकालाई खुसी राख्न मोबाइल दिएका अभिभावक अहिले पछुताउन थालेका छन् । मोबाइलको गलत प्रयोग हुँदा अभिभावकलाई समस्या हुन थालेको छ ।

बढ्दो आधुनिकतासँगै बालबालिकामा मोबाइलको प्रयोगले अभिभावक चिन्तित बन्दै छन् । पछिल्लो समय बालबालिकाको खेलौना र साथी नै मोबाइल बन्न थालेको छ । कतिपय अवस्थामा बालबालिकालाई खाना खुवाउँदा पनि मोबाइल चाहिने अभिभावकको गुनासो छ । “आफू काममा व्यस्त रहँदा बच्चालाई मोबाइल दिएर भुलाएँ, आजभोलि खाना खाँदा पनि मोबाइल चाहिन्छ”, टीकापुरकी बन्दना धामीले भन्नुभयो, “बच्चाको क्रियाकलाप देखेर अहिले त चिन्ता बढेको छ । बच्चा मोबाइलबिना केही गर्न मान्दैन ।”

जानकी गाउँपालिकाकी जानकी न्यौपाने आफ्ना बच्चामात्र होइन, छिमेकीका बच्चा देखेर पनि आफू पीडामा रहेको बताउनुहुन्छ । “विगतमा घर नजिकैको चौरमा स्कुलपछि बालबालिका फुटबललगायतका विभिन्न खेल खेल्थे, आजभोलि चौर खाली हुन्छ”, उहाँले भन्नुभयो, “अचेल घरघरमा बालबालिका मोबाइल, टेलिभिजनमा भुलेका हुन्छन्, बालबालिका विद्यालय जान्छन्, विद्यालयबाट फर्केपछि कोठाभित्रै विभिन्न प्रविधि चलाएर बस्छन् ।”

अभिभावकहरू बालबालिका घरभित्रै बस्दा सामाजिक हुन नसक्ने चिन्ता व्यक्त गर्छन् । बालबालिकामा मोबाइलप्रतिको आकर्षण बढ्दै जानुमा अभिभावक नै जिम्मेवार भएको एक मनोसामाजिक परामर्र्शकर्ता धनराज विकको भनाइ छ । अभिभावककै कमजोरीका कारण उनीहरूमा भोलिका दिनमा विकराल समस्या आउन सक्ने उहाँ बताउनुहुन्छ ।

“बालबालिकालाई अभिभावकले समय दिएकै छैनन्, अभिभावक काममा व्यस्त रहने, बालबालिकाको हातमा मोबाइल दिने गलत कार्य हो”, उहाँ भन्नुहुन्छ, “बालबालिकालाई घुम्न लैजाने, आफूसँगै विभिन्न खेल खेलाउने, घरको काम सिकाउने काम अभिभावकको हो । अभिभावकलाई समय छैन । अनि बालबालिका मोबाइलमा भुल्छन् ।”

मोबाइल चलाउनु नराम्रो होइन । मोबाइल, कम्प्युटर चलाएर, टेलिभिजन हेरेर ज्ञान लिन सके राम्रै हुन्छ । मोबाइल तथा सामाजिक सञ्जालबाट सही सूचना र सही ज्ञान लिएमा जीवनमा काम लाग्छ तर यसलाई लतका रूपमा प्रयोग गरेमा बेफाइदा हुनेमा सचेत हुन आवश्यक छ ।

बालक रुनेबित्तिकै उसलाई फकाउन मोबाइल दिनुको साटो उनीहरूलाई विभिन्न आकर्षक चित्र देखाएर र उनीहरूसँगै खेलेर अनि समय दिएर यस्तो प्रवृत्तिलाई न्यूनीकरण गर्न सकिने टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीको सुझाव छ । “विभिन्न रमाइला चित्र भएका पुस्तक दिने, कथा सुनाउने, ज्ञानवद्र्धक चलचित्र देखाउने गर्न सकिन्छ”, उहाँ भन्नुहुन्छ, “बढी मोबाइल चलाएमा स–साना बालबालिकामा विभिन्न मस्तिष्क र आँखासम्बन्धी समस्या हुनसक्ने जोखिम रहेकाले समयमै सचेत बन्न आवश्यक छ ।”

– रासस

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *