Rato Pana
समाचार

सहयोगमा पाएको कोरानाविरुद्धको ४४ लाख डोज खोप खेर जाने अवस्थामा

काठमाडौँ । दातृ निकायहरूले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरानाविरुद्धको ४४ लाख डोज खोप प्रयोग नहुँदा खेर जाने अवस्थामा पुगेको छ। दाताबाट प्राप्त खोपलाई समयमै सदुपयोग गर्नेतर्फ सरकारी तहबाट पहल नहुँदा यस्तो अवस्था आएको हो। दाताले दिएको लाखौं डोज खोप म्याद गुज्रिने अवस्थामा पुग्न लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ।

विभागका अनुसार पाँचदेखि ११ वर्ष उमेरसम्मका बालबालिकाका लागि भनेर आएको खोपको पनि म्याद गुज्रिसकेको छ। गत सेप्टेम्बरदेखि अक्टोबरसम्म म्याद रहेका खोप यही जनवरी अन्त्यसम्म प्रयोग गर्न सकिने भन्दै विभागले केही समयअघि स्थानीय तहमा पठाएको थियो। ती खोप जनवरी महिनाभरिमा प्रयोग गर्न सकिने सल्लाहकार समितिको सिफारिसपछि विभागले स्थानीय तहमा पठाएको हो।

विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेकलाल दासले पाँचदेखि ११ वर्ष उमेरसम्मका बालबालिकाका लागि प्रदेशमा ८७ हजार र स्थानीय तहमा तीन लाख डोज पठाइएको बताए। उनले भने, ‘म्याद गुज्रेका ती खोप यही जनवरी महिनाभित्र लगाउँदा केही असर पर्दैन भन्ने विश्वास दिलाउन नसक्दा खपत हुन नसकेको अवस्था छ।’

याे खबर नागरिक दैनिकमा छ ।

सम्वन्धित समाचार

Leave a Comment