Categories समाचार

लिंकरोडको नाम ‘महात्मा गान्धी पथ’ राख्दैमा पिपराको पहिचान मेटिदैन : स्थानीय

Advertisement

वीरगञ्ज । केही व्यक्तिले जनतालाई भ्रमित पारेर पिपराको विकासमा अवरोध गर्न खोजेको भन्दै वीरगञ्ज महानगरपालिका वडा नम्वर १४ पिपराका स्थानीयले आज प्रदर्शन गरेका छन् ।
विकासको काममा अवरोध गर्न पाइँदैन, आम जनतालाई भ्रमित गर्न पाइँदैन लगायतका नारा लगाउँदै ठूलो पिपराबाट निस्केको प्रदर्शन चिनीमिल आवास क्षेत्र अगाडी आएर कोणसभामा परिणत भएको थियो ।

पिपराको विकास हुन नदिन केही व्यक्ति लागेको भन्दै उनीहरुको विरोधमा सम्पूर्ण गाउँवासी सडकमा उत्रिएको नेपाली कांग्रेसका नगर सचिव समेत रहेका स्थानीय श्याम पटेलले बताए ।
उनले सडकको नाम ‘महात्मा गान्धी पथ’ राख्दैमा पिपराको कुनै पनि ऐतिहासिक पहिचान नमेटिने पनि प्रष्ट पारे ।

Advertisement

‘अहिले लिंक रोड भन्ने गरिएको सडकलाई महात्मा गान्धी पथ नामाकरण गर्न खोजिएको हो, यो नामाकरणले पिपराको कुनै पनि ऐतिहासिक तथ्य मेटिँदैन,’ उनले भने, ‘पथ सँगसँगै वडा नम्वर १४ पिपरा स्पष्टसँग लेखिने हुँदा कोही पनि भ्रमित हुन जरुरी छैन ।’
अहिले पनि यो ठाउँलाई कसैले आवाक्षेत्र, कसैले नयाँ वस्ति भनेर चिन्ने गरेको भन्दै नामाकरणबाट कोही आत्तिहाल्न नपर्ने उनले बताए ।

Advertisement

स्थानीय समेत रहेका वरिष्ठ चिकित्सक डा.अशोक दासले दातृ निकायलाई लगानी मैत्री वातावरण तयार गर्दै गाउँविकासमा लगानी भित्रिने वातावरण बनाउनु सबैको दायित्व रहेको भन्दै त्यसका लागि पिपराका बासिन्दा स्वागत गर्न आतुर रहेको पनि बताए ।
केही व्यक्तिका कारण हुन लागेको काम रोकिन नहुने भन्दै उनले सडक नामाकरणको काम तत्काल गर्न पनि आग्रह गरे ।
वीरगञ्ज महानगरपालिकाले पिपरामा रहेको लिंकरोडको नामलाई परिवर्तन गरेर ‘महात्मा गान्धी पथ’ नामाकरण गर्ने तयारी गरेको थियो । तर केही व्यक्तिको विरोधका कारण नामाकरणको काम स्थगित हुन पुगेको छ ।

केही उच्छृङ्खल व्यक्तिका कारण आफ्नो ठाउँ विकास हुन बाट पछि नपरोस भनेर सम्पूर्ण टोलवासी सडकमा उत्रिएको उद्योगीसमेत रहेका स्थानीय रामआषिस प्रसाद कुर्मी बताउँछन् ।
एलएस न्यूरो अस्पतालका संचालक समेत रहेका स्थानीय रामप्रवेश पटेलले अन्तर्राष्ट्रिय विभुतिको रुपमा रहेका महात्मा गान्धीको नाममा आफ्नो ठाउँको सडकको नामाकरण हुन लागेको सुन्दा खुसी लागेको बताए ।

‘मेयरले राम्रो काम गरिरहनु भएको छ । केहीलाई त्यो पचेको छैन,’ उनले भने, ‘कसैको उक्साहटमा केही व्यक्तिले विरोध गरेका हुन् । २, ४ जनाले विरोध गर्दैमा हुन लागेको काम रोकिनु हुँदैन, हामी सम्पूर्ण टोलवासी साथमा छौँ काम रोक्न दिदैनौँ ।’

कार्यक्रममा पिपराका स्थानीय वासिन्दासँगै विभिन्न राजनितिक दलका प्रतिनिधि, उधोगी, समाजसेवि, बुद्धिजिवीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *